हिमपातका कारण मनाङलगायतका हिमाली जिल्लामा अलपत्र परेका यात्रुहरूको नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको छ।
काठमाडौँ– गएरातिदेखि परेको हिउँका कारण मनाङ लगायतका हिमाली जिल्लाहरूमा अलपत्र परेका यात्रुहरूको नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको छ।
गएरातिदेखिको हिमपातका कारण मनाङको तिलिचो बेस क्याम्पमा अलपत्र ७५० जनाको उद्धार गरी उनीहरूलाई डिस्याङ गाउँपालिका–९ स्थित खाङ्सार ल्याइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। अन्य ५० जनालाई भने तिलिचो बेस क्याम्पमै सुरक्षितसाथ राखिएको छ।
मनाङ घुम्न गएका पर्यटकहरूलाई खाङ्सारमा बसोबासको समस्या देखिएपछि उनीहरूलाई सुरक्षितसाथ फर्कने व्यवस्था मिलाइएको उनले बताए।
यसैबीच, तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर बेहोस भएका काठमाडौँ महानगरपालिका–३१ का ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई सशस्त्र प्रहरी र नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय (मनाङ) ले खाङ्सारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको छ।
सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएर उच्च भूभाग खोज तथा उद्धार तालिम समेत सञ्चालन गर्न थालेपछि हिमपातमा परेका नागरिकको उद्धारमा सहजता भएको जनाइएको छ।
मुस्ताङ र मनाङमा सडक सहजीकरण
सशस्त्र प्रहरी बलले मनाङ र मुस्ताङलगायत हिमाली जिल्लामा गएरातिदेखिको हिउँका कारण अवरुद्ध सडकको हिउँ पन्छाएर पदयात्रामा गएका यात्रुलाई सहजीकरण गरेको छ।
मुस्ताङको लोमाङथाङ गाउँपालिका–५ नेचुङस्थित उपल्लो मुस्ताङमा हिउँ पन्छाउनुका साथै सो बाटो हुँदै पदयात्रा तथा भ्रमणमा जाने पर्यटकहरूलाई सुरक्षित यात्रा र सावधानी अपनाउन अनुरोध गरिएको सहप्रवक्ता थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट नेचुङको टोलीले यात्रुहरूको सहजताका लागि कोरोला नाका जाने बाटोमा परेको हिउँ पन्छाएको छ। कोरोला नाकासम्म जाने बाटोमा हिउँ जमेर असहजता भएपछि हिउँ पन्छाइएको उनले थप स्पष्ट पारे। थप हिमपात भएमा सो क्षेत्रमा भ्रमणमा नआउन सशस्त्र प्रहरीले अनुरोध गरेको छ।
त्यसैगरी, मनाङको डिस्याङ गाउँपालिका–४ हुम्डेस्थित चामेदेखि खाङ्सार जाने बाटोमा परेको हिउँ पनि सशस्त्र प्रहरी बल नेपाल नं ३२ गुल्म मनाङबाट खटिएको सुरक्षा फौजले हटाएको छ। उक्त फौजले यात्रुहरूलाई सावधानी अपनाउन र मौसम प्रतिकूलताबारे सचेत रहन अनुरोध गरेको छ।
यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण पदमार्गमा गएका पदयात्रीको सहजीकरणको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेस नारच्याङ्, म्याग्दीको टोली खटिएको सहप्रवक्ता थापाले जानकारी दिए। सो टोली पदयात्रीहरूको सहजता र सुरक्षाको लागि अन्नपूर्ण गाउँपालिका–४ हुमखोला भन्दा माथिसम्म पुगेको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
