भिरबाट लडेर बैतडीमा ३ जनाको मृत्यु

भिरबाट लडेर बैतडीमा तीन जनाको मृत्यु भएको छ।

बैतडी– भिरबाट लडेर बैतडीमा एकै दिन तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा मेलौली नगरपालिका-७, पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका-५, बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद र डिलासैनी गाउँपालिका-७, ढाँणकी ५८ वर्षीया हरुली कार्की रहेका छन्।

बुधबार शिवनाथ धाममा जात्रा हेर्न गएका भीमसिंह रावत घर नफर्केपछि प्रहरीले खोजतलास गरेको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूका अनुसार बिहीबार दिउँसो शिवनाथ–६ को ओल्या भिरभन्दा करिब ५०० मिटर तल रावत मृत अवस्थामा फेला परेका हुन्।

प्रहरीले दिएको जानकारीअनुसार इन्द्रसिंह साउदको पनि शिवनाथ जात्राबाट फर्किने क्रममा भिरबाट लडेर ज्यान गएको थियो।

यसैगरी, बुधबारदेखि हराइरहेकी हरुली कार्कीको खोजीका क्रममा न्यौटे भन्ने स्थानमा खर काट्ने क्रममा भिरबाट लडेको अवस्थामा शव भेटिएको हो।

प्रहरी निरीक्षक बडूले कार्कीको शव भिरबाट करिब एक मिटर तल फेला परेको जानकारी दिए। तीन वटै घटनाबारे जिल्ला प्रहरी कार्यालय बैतडीले थप अनुसन्धान गरिरहेको जनाएको छ।