लुभ्र संगहालय चोरी: मुख्य अभियुक्तसहित ५ नयाँ सन्दिग्ध पक्राउ

फ्रान्सेली प्रहरीले विश्वप्रसिद्ध लुभ्र संग्रहालयमा यसै महिनाको चर्चित गहना चोरीमा संलग्न रहेको आशंकामा पाँच जनालाई पक्राउ गरेको छ।

फ्रान्सेली प्रहरीले विश्वप्रसिद्ध लुभ्र संग्रहालयमा यसै महिना भएको चर्चित गहना चोरीमा संलग्न ठानिएका पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना मुख्य अभियुक्त रहेको जानकारी पेरिसका सार्वजनिक अभियोजक लरा बेकुआउले बिहीबार दिएकी छन्।

मुख्य अभियुक्तलाई प्रहरीले लामो समयदेखि निगरानीमा राखेको अभियोजक बेकुआउले बताइन्। “हामीले उसलाई हाम्रो निगरानीमा राखेका थियौँ,” उनले भनिन्।

बेकुआउका अनुसार करिब १० करोड २० लाख अमेरिकी डलर मूल्य बराबरका चोरी भएका कुनै पनि गहना हालसम्म बरामद गर्न सकिएको छैन। तर, डीएनए प्रमाणले मुख्य अभियुक्तलाई अक्टोबर १९ मा भएको चोरीसँग सीधा रूपमा जोडेको छ। ती व्यक्ति चार सदस्यीय टोलीका एक सदस्य थिए, जसले अत्याधुनिक उपकरणसहित योजनाबद्ध तरिकाले चोरीको घटना घटाएका थिए।

अभियोजकले भनिन्, “अन्य पक्राउ परेकाहरू ती व्यक्तिहरू हुन्, जसले घटनाको क्रम र सञ्चालनबारे अनुसन्धानकर्तालाई उपयोगी जानकारी दिन सक्ने सम्भावना छ। अहिले नै विस्तृत विवरण दिनु उचित हुने छैन।”

पाँचै जनालाई बुधबार पेरिस र वरपरका क्षेत्रमा, विशेष गरी राजधानीबाहिर रहेको सेन–सेन्ट–डेनिस क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो। यसैबीच, गत शनिबार पक्राउ परेका दुई व्यक्तिलाई पनि बुधबार चोरी र आपराधिक षड्यन्त्रको आरोप लगाइएको अभियोजन कार्यालयले जनाएको छ। ती दुवै जनाले ‘आंशिक रूपमा’ आरोप स्वीकार गरेका छन्। उनीहरूलाई पूर्व–परीक्षण हिरासतमा राखिएको छ।

फ्रान्सेली प्रहरीका अनुसार, दर्जनौँ जासुसको टोली अहिले पनि ती चार जना मुख्य चोरहरूको खोजीमा खटिएको छ। ती व्यक्तिहरूले चल्ती लिफ्ट र काट्ने उपकरणयुक्त ट्रकको प्रयोग गरी संग्रहालयको पहिलो तलाको ग्यालरीमा प्रवेश गरेर आठ थान बहुमूल्य गहना लिएर भागेका थिए।

चोरी गरिएका वस्तुमध्ये एक पन्ना र हीराले जडित हार पनि रहेको बताइएको छ। यो नेपोलियन प्रथमले आफ्नी पत्नी महारानी मेरी–लुइसलाई उपहार दिएको हार थियो। त्यसैगरी, करिब दुई हजार हीरा जडित महारानी युजेनीको मुकुट पनि चोरी भएको पुष्टि भएको छ।

फ्रान्सेली अधिकारीहरूले चोरीमा संलग्न सम्पूर्ण समूहको पहिचान र चोरी गरिएका अमूल्य ऐतिहासिक गहनाको पुनः प्राप्तिका लागि विस्तृत अनुसन्धान जारी रहेको बताएका छन्।