मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजीवन प्रभावित

हिमाली जिल्ला मुस्ताङमा निरन्तरको वर्षाले जनजीवन प्रभावित बनेको छ।

मुस्ताङ– मंगलबार हिमपात भएपछि हिमाली जिल्ला मुस्ताङमा निरन्तर वर्षा भइरहेको छ। जिल्लाका पाँचवटै स्थानीय तहमा बुधबार बिहानदेखि निरन्तर वर्षा जारी छ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड, लोमान्थाङ गाउँपालिका र मुक्तिनाथ क्षेत्रलगायतका स्थानमा यसअघि नै भारी हिमपात भएको थियो। तर, तल्लो मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिकाको उच्च लेकमा मात्र हिमपात भए पनि बस्तीमा भने परेको थिएन। यो वर्ष मुस्ताङमा कात्तिकमा नै हिमपात भएको छ।

निरन्तरको वर्षाले जनजीवन प्रभावित बनेको छ। धेरैजसो विद्यार्थी घरबाटै विद्यालय आउजाउ गर्ने भएकाले विद्यालय जाने बालबालिकालाई सास्ती भएको छ। धौलागिरि आवासीय माध्यमिक विद्यालयका शिक्षक आदित्यचन्द्र थकालीले वर्षाले बालबालिकाको आवागमनमा असर पुर्‍याएको जानकारी दिए। वर्षा भए पनि सबै विद्यालयमा पठनपाठन भने जारी रहेको छ।

मुक्तिनाथ क्षेत्रमा पनि निरन्तर वर्षा भइरहेको मुक्तिनाथ विकास समितिका कर्मचारी रबिन सुवेदीले जानकारी दिए। “वर्षाका कारण रानीपौवा बसपार्कदेखि मुक्तिनाथको तल्लो प्रवेशद्वारसम्मको बाटो हिलाम्मे भएको छ,” उनले भने।

मुक्तिनाथ दर्शन गर्न आउने ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्त भक्तजनलाई मन्दिर पुगेर फर्किन सकस भएको मुक्तिनाथस्थित जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले बताए। मुक्तिनाथ बसपार्कदेखि घोडा र डोलीमा चढाएर मुक्तिनाथ आउजाउ गर्ने कार्य पनि प्रभावित बनेको छ।

जोमसोम—कोरला सडक पहिरोका कारण अवरुद्ध
यसैबीच, वर्षाका कारण राष्ट्रिय गौरवको जोमसोम—कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ।

बुधबार साँझ जोमसोम–कागबेनी सडक खण्डअन्तर्गत वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित एक्लेभट्टी नजिक पहिरो गएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए। कागबेनी–कोरला सडकखण्डअन्तर्गत वारागुङ मुक्तिक्षेत्र–३ ताङ्वे सडकमा पनि पहिरो गएको छ। पहिरोले सवारी आवागमन ठप्प भएको छ।

प्रमुख जिल्ला अधिकारी भुसालले सडक पुनः खुलाउन पहल भइरहेको बताए। जिल्ला प्रशासन कार्यालयले हिमपात र वर्षाको जोखिम कायमै रहेकाले रातिको समयमा यात्रा नगर्न समेत अनुरोध गरेको छ।