दाहाल र भट्टराईबीच पार्टी एकता कार्यदल बनाउने सहमति

माओवादीले वाम एकताको पहलका लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत रहेको वार्ता टोली बनाएको छ। 

तस्वीर : रासस

काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईबीच पार्टी एकताबारे छलफल भएको छ। 

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शनिबार भएको भेटमा दुई पार्टीबीचको एकता, पुस २६ गते सरकारलाई विश्वासको मत दिने र प्रदेश सरकार गठनलगायत समसामयिक विषयमा छलफल भएको नेसपाका नेता गंगानारायण श्रेष्ठले जानकारी दिए। नेता श्रेष्ठका अनुसार पार्टी एकताको तयारी पूरा भएको छ । 

माओवादीको वरिष्ठ उपाध्यक्ष रहेकै अवस्थामा भट्टराईले २०७२ असाेज ९ मा पार्टी परित्याग गरी आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी बनाएका थिए। अहिले नेपाल समाजवादी पार्टीको अध्यक्ष बनेका छन्। नेसपाले ४ मंसिरको प्रतिनिधिसभा चुनाव माओवादी केन्द्रकै चुनाव चिह्नबाट लडेको थियो। शनिबार भएको दुई पार्टीका अध्यक्षहरूको भेटपछि पार्टी एकताका निम्ति कार्यदल बनाएर अगाडि बढ्ने विषयमा समेत छलफल भएको थियो।

सोहीअनुसार माओवादी केन्द्रीय कार्यालयको बैठकले बृहत् वाम एकताको पहलका लागि भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेतसहित वार्ता टोली बनाएको छ। नेसपाले भने आइतबार राजनीतिक समितिको बैठक बोलाएको छ।