मोरङको सुन्दर हरैँचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा

मोन्था चक्रवातको असर अहिले मधेश र कोशी प्रदेशमा बढी परेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए।

फाइल तस्वीर

काठमाडौँ– मोन्था चक्रवातका कारण मौसम बदली हुँदा पछिल्लो २४ घण्टामा मोरङको सुन्दर हरैँचामा सबैभन्दा बढी २१० मिलिमिटर वर्षा भएको छ।  जल तथा मौसम विज्ञान विभागको अभिलेखअनुसार सप्तरीको बरमजियामा १४३ मिलिमिटर वर्षा भएको छ। 

मोन्था चक्रवातको असर अहिले मधेश र कोशी प्रदेशमा बढी परेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए। यद्यपि, बागमतीलगायत प्रदेशमा पनि असर रहँदा बदली र वर्षा भइरहेको छ। उनका अनुसार यो भारी वर्षा हो। २०० मिलिमिटर वर्षा नाघेमा अति धेरै भारी वर्षाको सूचीमा राखिन्छ।

सूचना अधिकारी कायस्थका अनुसार पछिल्लो २४ घण्टामा धेरै जिल्लामा भारी वर्षा भएको छ। झापा र उदयपुरमा ९३.६ र ९७.६ मिलिमिटर वर्षा भएको छ। दुई दर्जन बढी वर्षा मापदन केन्द्रमा ५० देखि ८० मिलिमिटरको बीचमा वर्षा भएको छ। ललितपुरमा ७२ र काठमाडौँमा ४० मिलिमिटर वर्षा भएको छ।

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यून चापीय क्षेत्रका रूपमा रहेको र सो प्रणालीको कारणले शुक्रबार साँझसम्मै प्रभावित हुने सूचना अधिकारी कायस्थले जानकारी दिए। त्यसपछि भने सुधार हुँदै जानेछ।

नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। हाल देशभर साधारणतयादेखि अधिकांश बदली रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने कतै धेरै भारी वर्षा भएको छ।