निरन्तरको वर्षाले धानबाली खेतमै कुहिन थालेपछि किसान चिन्तित

धान भित्र्याउने मुख्य याममा भएको निरन्तरको वर्षाका कारण नकाटिएको धान पनि ढलेकाले किसानहरूमा थप चिन्ता बढेको छ।

भोजपुर– निरन्तरको वर्षाले भोजपुरका किसानको वर्षभरिको मिहिनेत र लगानी खेर गएको छ। थन्क्याउनका लागि काटिएको धान खेतमा नै कुहिन थालेपछि किसानहरू आर्थिक तथा मानसिक संकटमा परेका छन्। नकाटिएको धान पनि ढलेकाले किसानहरूमा थप चिन्ता बढेको छ।

पौवादुङ–२ का किसान राजन ढकालका अनुसार, बर्सातले किसानलाई धेरै क्षति पुर्‍याएको छ। धान भित्र्याउने मुख्य याममा भएको निरन्तरको वर्षाका कारण किसान समस्यामा परेका हुन्।

“धान थन्काउने मुख्य सिजनमा लगातार वर्षा भइरहेको छ,” उनले भने, “बिटा लगाउन काटेको धान आलीमै कुहिन थालेको छ। नकाटिएको धान पनि लडेर सखाप भएको छ। यस्तै स्थिति रहे, परिवारको गुजारा चलाउनै गाह्रो पर्ने अवस्था छ।”

ढकालका अनुसार बर्सातले धान मात्र होइन, पशु चौपायाका लागि राखिने परालमा पनि क्षति पुर्‍याउँदै गएको छ।

स्थानीय किसान रूपनारायण फुयाँलले पनि किसानको वर्षभरिको परिश्रम बर्सातले सखाप पारेको बताए। भित्र्याउने अवस्थामा रहेको धानमा क्षति पुगेपछि किसानले ठूलो मर्का भोगेको उनको भनाइ छ।

“हामीले वर्षभरको पसिना पोख्यौँ,” उनले भने, “तर असामयिक वर्षाले केही दिनमै सबै बरबाद गरिदियो। खेतमै धान सड्न थालेको छ। उत्पादन र गुणस्तर दुवैमा क्षति पुग्दै छ।”

लगातारको वर्षा, चिस्यान र घाम नलाग्दा धान सुकाउन सकिने अवस्था नरहेको किसानको भनाइ छ।

क्षतिपूर्ति दिने पैंयू गाउँपालिकाको निर्णय
लगातारको वर्षाले किसानको मुख्य खाद्यान्न बाली धान भित्र्याउने बेलामै ठूलो क्षति पुर्‍याएपछि दक्षिण पर्वतको पैंयू गाउँपालिकाले प्रभावित कृषकलाई राहत दिने भएको छ।

कात्तिक ११ गतेदेखि लगातार परेको वर्षाले पाकेको र काटिसकेपछि खेतमा सुकाएको धानबालीमा ठूलो नोक्सानी पुर्‍याएको परिस्थितिमा गाउँपालिकाले राहत दिने निर्णय गरेको हो। यहाँका किसानले कात्तिक ९ र १० गते काटेर सुकाएको धान निरन्तरको वर्षाले नष्ट गरिदिएको हो।

गाउँपालिकाले वर्षा रोकिएलगत्तै क्षतिको यथार्थ विवरण संकलन गर्नका लागि प्रक्रिया अघि बढाउने र क्षतिको मूल्यांकनका आधारमा राहत उपलव्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिए।

“मौसमी विपत्तिबाट किसानको बालीमा परेको क्षतिको यथार्थ विवरण सङ्कलन गर्न गाउँपालिकाले सबै वडामा प्रक्रिया शुरू गरेका छौँ,” उनले भने, “धान परालमा भएको नोक्सानीको मूल्यांकन गरी राहत रकम भुक्तानी गर्ने योजना बनाएका छौँ। यसले गर्दा कृषकले फेरि धान वा अन्य अन्न खरिद गरेर खान सकून् भन्ने पालिकाको उद्देश्य हो।”

कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत सोविता सुवेदीका अनुसार, हाइब्रिड धान पाकिसकेकाले किसानले काटेका धान खेतका गरामा नै भिजेको जानकारी आएको छ। काटेर सुकाएका धान भिजेको भन्दा हावाले ढलाएको सूचना बढी आएको र त्यसमा पनि स्थानीय जातका धानमा बढी क्षति भएको किसानले बताएका छन्।

नकाटेर खेतमै ठाडो रहेको धानमा भने वर्षाले खासै असर नपारेको तर पूरै पाकेको धान भने झर्न सक्ने उनको भनाइ छ। सुवेदीले मौसमको आगामी अवस्थाका बारेमा जानकारी लिएर मात्रै धान काट्नुपर्ने बताउँदै क्षतिको विवरण संकलनको काम भइरहेकाले अहिले नै यकिन तथ्यांक आइनसकेको बताइन्। किसानलाई क्षतिपूर्तिका लागि केन्द्रले पहल गर्ने पनि उनको भनाइ छ।