साप्ताहिक ब्रिफिङ: देवी भट्टचनलाई ‘जोगाउन’ खोजिएको सीआईबीकै त्यो फाइल, दल दर्ता गर्ने तयारीमा कुलमान
यो साता उकालोमा, ‘मारवाडी समुदायप्रति फैलाइएको अफवाह, परिणाम– भौतिक आक्रमण’, ‘राज्यकोषबाट १ अर्ब खर्च गरेपछि अलपत्र बनाइएका खानेपानी आयोजना’, ‘अस्पतालमा आन्दोलनका घाइते छट्पटाइरहँदा थिएनन् सर्जन’लगायतका समाचार चर्चामा रहे।
यस साताको न्युजलेटर शुरू गरौँ, एमालेका पूर्वसांसद देवी भट्टचन पक्राउ परेको समाचारबाट। नेकपा एमालेका पूर्वसांसद तथा व्यवसायी देवीप्रसाद भट्टचन मंगलबार साँझ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट पक्राउ परे।
उनीविरुद्ध उजुरी परे पनि पहिले राजनीतिक प्रभावका कारण उनी अनुसन्धानको दायरामा आएका थिएनन्। भट्टचन पक्राउ परेपछि कतिपयले राजनीतिक संरक्षणमा जोगिँदै आएका ‘ठूला माछा’ समातिएको टिप्पणी गरिरहेका छन्। सीआईबीले उनीमाथि ठगी, आपराधिक विश्वाघात र आपराधिक लाभसहित नेपाल राष्ट्रबैंक ऐन २०५८ अन्तर्गतको कसूर गरेको भन्दै थप अनुसन्धान गरिरहेको छ।
भट्टचनलाई अनुसन्धानका लागि पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतबाट पुर्जी लिइएको थियो। तर तत्कालीन सत्तारुढ दल नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य रहेका र प्रधानमन्त्री केपी शर्मा ओलीनिकट भट्टचन सीआईबीको अनुसन्धान ‘राडार’ भन्दा बाहिरै थिए। सीआईबीले यो प्रकरणमा गत असोज ५ गते जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो।
त्यो समयमा ओली नेतृत्वको सरकार विस्थापित भइसकेको, भट्टचनको सांसद पद गुमेको र जेनजी आन्दोलनको बलमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनिसकेको थियो। यति हुँदाहुँदै पनि, सीआईबीको प्रतिवेदनमा भट्टचनलाई प्रतिवादी नै नबनाइएको तथ्य फेला परेको थियो।
यसबारे थप बुझ्न केशु लामिछाने र बीपी अनमोलको पढ्नुहोस् रिपोर्ट : देवी भट्टचनलाई ‘जोगाउन’ खोजिएको सीआईबीकै त्यो फाइल, सरकारी वकिलबाट फिर्ता आएपछि बल्ल ‘एक्सन’
कैलालीको इलाका प्रहरी कार्यालय सुखडले असोज २१ गते २३ वर्षीय आकाश शाहीलाई हतियारसहित पक्राउ गरेको थियो। बरामद भएको उक्त हतियार भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा काठमाडौँको कोटेश्वरमा प्रहरीबाट लुटिएको थियो। डीएसपी रमेशदत्त अवस्थीका अनुसार, हतियार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा बुझाइएको छ भने, लागूऔषध प्रयोगकर्ता रहेका शाहीलाई हाजिर जमानीमा छोडिएको छ। शाही विदेश जाने सोचसहित काठमाडौँ बसेर भाषा सिकिरहेका थिए।
यसअघि, असोजको पहिलो साता कैलालीकै इलाका प्रहरी कार्यालय मालाखेतीले समीर खड्का, हिमाल आचार्य, आभास चन्द र जीवेश सापकोटालाई पनि दुई थान हतियारसहित पक्राउ गरेको थियो। उनीहरूबाट बरामद रिभल्भर र ‘टाइप–५४’ पेस्तोल जेन–जी आन्दोलनकै क्रममा काठमाडौँबाट लुटिएको डीएसपी रणबहादुर चन्द बताउँछन्।
काठमाडौँ प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार, कानूनी कारबाहीका लागि पठाइएका ती चारैजनालाई असोज ९ गते गृह मन्त्रालयले जारी गरेको सूचनाका आधारमा हाजिर जमानीमा छोडिएको थियो। (सूचनामा आन्दोलनका घटना छानबिन गर्ने आयोगको क्षेत्राधिकार भएकाले नियमित निकायबाट कारबाही नगरिने उल्लेख छ।)
तर लुटिएका हतियारहरू दीर्घकालसम्मै सुरक्षा चुनौती बन्नसक्ने जोखिम माथिका घटनाहरूले देखाएका छन्। डीआईजी दीपक रेग्मी नेतृत्वको समितिको प्रतिवेदनमा एक हजार २८१ थान हतियार लुटिएकोमा ४९० थान मात्रै फिर्ता भएको उल्लेख थियो। यद्यपि, पछिल्लो समय थप हतियार बरामद भई कात्तिक १२ गतेसम्म ७२३ थान भेटिएको छ।
प्रहरीका यति धेरै हतियार आन्दोलनकारीको कब्जामा कसरी पुगे? यसबारे थप बुझ्न मनबहादुर बस्नेतको रिपोर्ट पढ्नुहोस्: प्रहरीको आत्मसमर्पण शैलीः हतियार किन छाडियो?
साताका प्रमुख हेडलाइनहरू
देश-समाज
प्रतिनिधिसभा नहुँदा गुमनाम राष्ट्रियसभा: प्रतिनिधिसभा विघटनपछि संसद् अधिवेशन अन्त्य गरिए पनि राष्ट्रियसभाअन्तर्गतका समितिले सरकारका कारबाहीबारे छलफल र निगरानी गर्न सक्छन्। तर ती समिति प्रभावहीन हुँदा राष्ट्रियसभामाथि प्रश्न उठ्न थालेको छ।
अस्पतालमा आन्दोलनका घाइते छट्पटाइरहँदा थिएनन् सर्जन: सीटीभीएस तथा न्युरो सर्जनको अभाव जेन–जी आन्दोलनले फेरि उजार गरेको छ। विशेषज्ञ सर्जन नहुँदा देशकै ठूला अस्पताल पुगेपछि पनि समयमै उपचार नपाएर कतिपय घाइतेको ज्यान गयो।
जेनेरिक नाममा औषधिः गुणस्तर चाहिँ कसले हेर्ने? त्रिवि शिक्षण अस्पतालले जेनेरिक नाममै औषधि सिफारिस गर्न चिकित्सकहरूलाई निर्देशन दिएसँगै औषधिको गुणस्तरको प्रश्नसमेत पेचिलो बनेको छ।
दल दर्ता गर्ने तयारीमा कुलमान: ओली नेतृत्वको तत्कालीन सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेसँगै कुलमान राजनीतिमा छिर्न सक्रिय थिए। देश दौडाहा मात्र नगरी उनी नेपाली बाक्लै रहेका खाडीसहितका देश पनि पुगेका थिए।
मारवाडी समुदायप्रति फैलाइएको अफवाह, परिणाम– भौतिक आक्रमण: पौने दुईसय वर्षअघि सरकारकै जोडबलमा नेपाल आएका मारवाडी समुदायप्रति सामाजिक सञ्जालमा फैलाइएका अफवाह र उनीहरूका व्यवसायबारे गरिएका नकारात्मक व्याख्या–प्रचारको दुष्परिणाम देखिन थालेको छ।
ब्याट्रीको प्रयोग बढेको बढ्यै, वातावरण र मानव स्वास्थ्य कसरी जोगाउने? रिमोट, भित्तेघडी, पेन टर्च, क्यामरा, इन्भर्टरजस्ता वस्तुमा प्रयोग हुने ब्याट्री फोहरमा मिसिएर वातावरणमा पुगेकै थियो, अब ईभीको प्रयोग बढिरहँदा दशकपछि यसको व्यवस्थापन थप चुनौतीपूर्ण बन्ने भएको छ।
राज्यकोषबाट १ अर्ब खर्च गरेपछि अलपत्र बनाइएका खानेपानी आयोजना: सरकारले ५ लाख बाँकेवासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउन शुरू गरेका आयोजनामा राज्यकोषबाट करिब १ अर्ब खर्च भइसकेपछि आयोजना नै अलपत्र परेका छन्। यसले हाम्रा विकास योजनाको यथार्थ छर्लंग बनाएको छ।
विचार-टिप्पणी
बरु विद्रोह नै होस्, महाधिवेशन मंसिरमै होस्: केन्द्रीय कार्यसमिति बैठकलाई पछि धकेल्ने बहानाबाजीबाटै बुझ्न सकिन्छ, संस्थापन पक्ष जसरी हुन्छ महाधिवेशन आमनिर्वाचन पछि धकेल्ने तिकडममा लागेको छ।
थिरी थिरी सरकारलाई हल्लाउने हावा: बालेनले गृहमन्त्रीमा ओमप्रकाश अर्याललाई चाहेका थिएनन् भन्ने त अलि अघि नै खुलासा भइसकेकै थियो। तर उनी राजीनामा माग्दै आइहाल्लान् भन्ने थिएन, आए।
सडकले देखाएको समाजको ऐना: ठूलाले वा सक्नेले साना वा नसक्नेलाई पेल्ने अभ्यास सडकमा मात्र होइन, नेपालका लगभग सबै क्षेत्रमा देख्न पाइन्छ। सडक (अ)सभ्यता नेपाली समाजलाई चियाउने एउटा आँखीझ्याल पनि हो।
जेनजी विद्रोहपछि झनै सुस्त बजार: त्रासपूर्ण वातावरणका कारण निजी क्षेत्रले कर्जा लिने हिम्मत तत्काल नदेखाएकाले बैंकमा तरलता झनै थुप्रिएको छ। बैंकहरूले ब्याजदर क्रमिक रूपले घटाउँदै लगेका छन्, तर यसले कर्जाको माग बढाउन सकेको छैन।
कला/संस्कृति
मूलधारका क्षेत्रीय सिनेमा, जो हुन् करोड क्लबका मालिक: भारतमा पछिल्लो समय क्षेत्रीय (रिजनल) चलचित्रको 'क्रेज' बढेको छ। कोभिडपछि विभिन्न ओटीटी माध्यममार्फत 'एक्स्पोज' पाएसँगै नेपाली सिनेमा हलमा पनि यस्ता चलचित्रले स्थान पाउने र दर्शक तान्ने गरेका छन्।
लोकहित सहितको लोकनाच, अर्थात् कात्तिक नाच: लोकहितको सन्देशसहित मल्लकालीन समयबाट शुरू भई हरेक वर्ष पाटनस्थित कात्तिक डबलीमा मञ्चन हुँदै आएको कात्तिक नाच २७ दिनबाट खुम्चिएर ९ दिनमा कसरी पुग्यो?
खेल
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) सँग ५ विकेटले पराजित भएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले जारी प्रतियोगितामा दोस्रो पराजय भोगेको हो। नेपाल यसअघि आइतबार भएको खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो। नेपालले अब शनिबार अमेरिका र बुधबार यूएईसँग पुन: खेल्ने छ। अंक तालिकामा १८ खेलबाट १२ अंक जोडेको नेपाल सातौँ स्थानमा छ।
घुमिफिरी पुबुदुः पहिले नेपालका उद्धारक, अहिले बाधक! यो कथा नेपाली क्रिकेटको मात्र होइन, पुबुदु दासानायकेको मात्र पनि होइन र अमेरिकी क्रिकेटको मात्र त हुँदै होइन। तर यी तीनै पक्षको कथा हो, जसलाई पुबुदुले नै जोडेका छन्।
नेपाली क्रिकेटको नियतिः छोटो स्वरूपमा सफलता, ओडीआई मान्यतामा चुनौती: सन् २०२६ को टी२० विश्वकपमा स्थान पक्का गरेको एक सातापछि ओडीआई खेल्न दुबई पुगेका नेपाली क्रिकेटरले अमेरिकाविरुद्ध मुस्किलले डेढसय रन कटाए। यसले लामो स्वरूपको क्रिकेटमा संकटको ऐना देखाएको छ।
विश्व
गाजामा इजरायली आक्रमण: बालबालिका सहित कम्तीमा ६० जनाको मृत्यु: यो घटनापछि गाजामा पुनः तनाव चर्किएको छ। यस महिनाको शुरूदेखि लागू भएको युद्धविरामको अवस्थामा चुनाैती थपिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
