अलपत्र पर्यटकको उद्धार गर्न सशस्त्र प्रहरी परिचालन

हिमपातका कारण मनाङको तिलिचो बेस क्याम्पमा अलपत्र परेका पर्यटकको उद्धारका लागि सशस्त्र प्रहरी परिचालन गरिएको छ।

फाइल तस्वीर

काठमाडौँ– हिमपातका कारण मनाङको तिलिचो बेस क्याम्पमा अलपत्र परेका पर्यटकको उद्धारका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार, ङिस्याङ गाउँपालिका–९ स्थित तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका १५ पर्यटकको उद्धारका लागि सशस्त्र प्रहरीको टोली त्यसतर्फ खटिएको छ। अलपत्र पर्नेहरूमा दुई चिनियाँ र १३ नेपाली रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली खटिएको हो। टोली पैदल हिँडेर जानुपर्ने भएकाले उद्धारमा केही समय लाग्नेछ। यद्यपि, अलपत्र परेका पर्यटकको अवस्था भने अहिलेसम्म सामान्य रहेको बुझिएको छ।

धवलागिरि चक्रीय पदमार्गबाट १५ पर्यटकको उद्धार
म्याग्दीबाट धवलागिरि हिमालको चक्रीय पदमार्ग हुँदै मुस्ताङ जाने क्रममा ट्रेकिङ गरिरहेका तीन बेलायतीसहित १५ पर्यटकको उद्धार गरिएको छ।

गत मंगलबारदेखि परेको हिमपातले मुस्ताङको 'हिडन भ्याली' इलाकामा फसेका पर्यटकको उद्धारका लागि बुधबार संयुक्त टोली खटाइएको थियो। टोलीमा नेपाली सेनाको उच्च शिखर शिक्षालय, इन्द्रबक्स गणका फौजसहित सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र गैरसैनिक पथप्रदर्शक सम्मिलित थिए।

उच्च हिमपात, कमजोर 'भिजिबिलिटी' र सञ्चार कठिनाइका कारण उद्धारमा समस्या आएको थियो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, याक खर्कलाई आधार बनाएर गरिएको तीन दिनको अथक प्रयासपछि करिब चार हजार ९०० मिटरको बतासेडाँडा इलाकाबाट आज सकुशल उद्धार गरिएको छ। उद्धार गरिएका पर्यटकहरू टोलीसहित जोमसोम फर्कने क्रममा छन्।