असोज ९ गतेयता ९० हजारको मतदाता नामावली संकलन

प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यमा उत्साहजनक सहभागिता देखिएको छ।

जिल्ला निर्वाचन कार्यालय मुस्ताङमा नयाँ मतदाता नामावलीका लागि बायोमेट्रिक संकलन गर्दै कर्मचारी। तस्वीर : सुन्दरकुमार थकाली/रासस

काठमाडौँ– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यमा उत्साहजनक सहभागिता देखिएको छ।

आयोगका प्रवक्ता नारयणप्रसाद भट्टराईका अनुसार, आयोगका सातवटै प्रदेश र ७० वटै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म यो कार्य भइरहेको छ र यसमा विगतमा नाम दर्ता नगराएका नागरिकको चाप देखिएको छ।

आयोगले गत असोज ९ गतेदेखि शुरू गरेको नामावली संकलन कार्यमा हालसम्म ९० हजार ३२ नागरिकले नाम दर्ता गराएका छन्। आयोगको अनुमानअनुसार, संकलनको अवधि कात्तिक ३० गतेसम्ममा यो संख्या एक लाखभन्दा बढी पुग्न सक्छ।

यसअघि, कात्तिक १६ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताको संख्या एक करोड ८१ लाख ६८ हजार २३० रहेको थियो। अहिले नाम दर्ता गर्ने नागरिकले आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा गरेमा मात्रै मताधिकार प्रयोग गर्न पाउनेछन्। यद्यपि, नामावली दर्ता गर्न १६ वर्ष उमेर पुगेपछि पनि मिल्नेछ।

नाम दर्ता गर्न सम्बन्धित निर्वाचन कार्यालय वा आयोगले तोकेको स्थलमा नेपाली नागरिकताको प्रमाणपत्रका साथ सम्बन्धित व्यक्ति स्वयं उपस्थित भई जैविक विवरण (बायोम्याट्रिक) दिनुपर्छ। यसका लागि अनलाइन माध्यमबाट प्रि–रजिष्ट्रेसन (पूर्वदर्ता) पनि गराउन सकिन्छ।

नागरिकले नागरिकताको प्रमाणपत्रमा रहेकोभन्दा भिन्नै ठेगानामा हाल स्थायी बसोबास गरेको भए बसाइँसराइका प्रमाणपत्र वा विवाह गरी हालको स्थायी ठेगानामा आएको हकमा विवाह दर्ता प्रमाणपत्र समेत पेस गर्नुपर्नेछ।

नामावली संकलनका क्रममा नयाँ नाम थप गर्नेबाहेक विगतको नामावलीमा त्रुटि सच्याउने, नाम सार्ने, नाम हटाउने र दाबी विरोध गर्नेलगायतका कार्यहरू पनि भइरहेका छन्।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भई अन्तरिम सरकार गठन भएको थियो। सरकारले प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउन राजनीतिक दल, जेनजी समूह, निर्वाचन आयोग र सुरक्षा निकायसँग निरन्तर संवाद जारी राखेको छ।