अध्ययन बिदापछि सेवामा नफर्किएका शिक्षक-कर्मचारीलाई ३५ दिनभित्र सम्पर्क गर्न त्रिविको आग्रह

त्रिविले अध्ययन बिदा लिएपश्चात् त्रिविमा फर्की सेवा नगर्ने शिक्षक र कर्मचारीबाट अध्ययन बिदाको शर्त उल्लंघन गरेको देखिएको बताएको छ।

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर सेवामा नफर्केका शिक्षक तथा कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ।

त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले शुक्रबार सूचना जारी गर्दै अध्ययन बिदा लिएपश्चात् फर्केर सेवा नगर्ने शिक्षक र कर्मचारीलाई ३५ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको हो।

त्रिविले अध्ययन बिदा लिएपश्चात् त्रिविमा फर्की सेवा नगर्ने शिक्षक र कर्मचारीबाट अध्ययन बिदाको शर्त उल्लंघन गरेको देखिएको बताएको छ। 

सूचनामा अध्ययन बिदा उपभोग गरी हाजिरी नभएका/शर्तअनुसार पूरा समय काम नगरेका/सेवाबाट हटाइएका/राजीनामा स्वीकृत गरी बरबुझारथ नगरेका/राजीनामा पेश गरी स्वीकृत नभएका शिक्षक तथा कर्मचारीलाई ३५ दिनभित्र समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ।