३५० वर्षअघिको पाटन चिनाउने पुस्तक ‘कीर्तिपताका’ नियाल्दा

शहरको सुरक्षाका लागि वरिपरि घेरिएको खाई तथा नहरमा विषालु साँप, गोही र अजिंगरहरू छोड्नुपर्ने प्राचीन मान्यताअनुरूप, पाटन शहरको वरिपरि यी जीवजन्तु छाडिएको कुनु शर्माको काव्यमा वर्णन छ।

नेपालको इतिहासमा मल्लकाललाई स्वर्णयुग मान्ने वा नमान्ने भन्ने प्रश्नमा पर्याप्त प्राज्ञिक बहस भएको छैन। तर, मल्लकालमा निर्माण भएका हजारौँ सांस्कृतिक सम्पदा, तीसँग जोडिएका जात्रा, पर्व–परम्पराको जीवन्तता, निरन्तरता र आधिकारिकताको आधारमा मल्लकाल (वा नेवार सभ्यता)लाई स्वर्णयुग मान्नु उपयुक्त हुन्छ।

आर्य र मङ्गोल समूह, तिनका शाखा–प्रशाखा र तत्तत् उपसमूहसँग जोडिएका कला र शिल्पीको संयोजनबाट नेवार सभ्यताको बलियो जग बनेको छ। हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित सांस्कृतिक तथा सामाजिक व्यवहार, पठनपाठनको निरन्तरता र सांस्कृतिक सम्पदाहरूको कोणबाट हेर्दा मल्लकाल शिक्षाको केन्द्र बनेको थियो। आज पनि जीवन्त सांस्कृतिक प्रवाह,  सम्पदाहरूको  संरक्षणको संरचनागत प्रक्रिया, र राष्ट्रिय अभिलेखालयमा  संग्रहित हजारौँ  ग्रन्थहरूको आधारमा  त्यस तर्कलाई स्थापित गर्न सकिन्छ।

वास्तुशास्त्र, चिकित्सा शास्त्र–आयुर्वेद, साहित्य र संगीतसम्बन्धी हजारौँ ग्रन्थहरू मल्लकालका देन हुन्। स्वयं राजाहरू कला–संगीतका पारखी हुनु, त्यसमा साधनारत हुनु र यसका लागि संरक्षण र प्रवर्द्धनमा सक्रिय रहेकै कारण मल्लकालमा शिक्षाको राम्रो अवस्था रहेको निर्क्योल गर्न सकिन्छ।

राजाका दरबारहरूमा धर्माधिकारी तथा कविहरूलाई विशेष नियुक्ति गरिन्थ्यो, जसलाई दरबारी कवि भनिन्थ्यो। विशेषगरी, पाटन दरबारमा पनि कवि–कलाकारलाई महत्त्व दिइन्थ्यो।

श्रीनिवास मल्लका पालाका कवि कुनु शर्माले पाटन शहरको भव्यता र श्रीनिवास मल्लको व्यक्तित्व तथा वैभवताबारे वर्णन गर्दै 'कीर्तिपताका' नामक काव्य लेखेका थिए। यस काव्यमार्फत आजभन्दा ३५० वर्षअघिको पाटन शहरको सामाजिक, सांस्कृतिक, किल्ला–वास्तुकलात्मक संरचना, राजप्रसाद, राजसभा र तत्कालीन राजनीतिक परिस्थितिबारे जानकारी प्राप्त गर्न सकिन्छ।

को हुन् त कुनु शर्मा?
कुनु शर्माको पारिवारिक पृष्ठभूमिबारे ठोस जानकारी नभए तापनि, उनको कृतिको आधारमा उनी श्रीनिवास मल्लका दरबारी कवि हुन् भन्ने बुझिन्छ। सिद्धिनरसिंह मल्लका दरबारी कवि हरिवंशका कारण कुनु शर्मा दरबारनजिक हुन नसकेको देखिन्छ। सम्भवतः हरिवंश र कुनु शर्माबीच एक किसिमको प्रतिद्वन्द्विता रहेको अनुमान गर्न सकिन्छ।

यसै परिस्थितिमा कुनु शर्माले श्रीनिवास मल्लको व्यक्तित्वको वर्णन गर्दै प्रशस्तिपरक काव्य 'कीर्तिपताका' लेखेका थिए। यद्यपि, यसअघि नै उनले 'त्रिशतक' लेखेको इतिहासकारहरूले परिचर्चा गरेका छन्। इतिहासकार महेशराज पन्तका अनुसार, 'त्रिशतक' अन्तर्गतका 'रुद्रशतक' र 'विष्णुशतक' राष्ट्रिय अभिलेखालयमा संरक्षित छन्। जसबारे 'पूर्णिमा' अंक ६२ मा आलोचनात्मक विमर्श गरिएको छ।

'कीर्तिपताका'का भूमिका लेखक कमलमणि दीक्षितको तर्क छ—कुनु शर्माले काठमाडौँ, भक्तपुर र ललितपुर शहरलाई ब्रह्मा, विष्णु र शिवको प्रतीकात्मक भावार्थमा 'त्रिशतक' लेखेको हुनसक्छ। कुनु शर्माले 'ब्रह्मशतक' पनि लेखेको हुनुपर्छ, जुन अद्यापि पत्ता लागेको छैन। सम्भवतः 'कीर्तिपताका' नै हालसम्म पत्ता लाग्न नसकेको 'ब्रह्मशतक' हुनुपर्छ भन्ने अड्कल गर्न सकिन्छ। तर, यस विषयमा ठोस प्रमाण नभएकाले थप निर्क्योलमा पुग्न सकिएको छैन।

कसरी पत्ता लाग्यो त?
विसं. २००७ सालपछि नेपाली विद्वान्हरू इतिहास र संस्कृतिको अध्ययन–अनुसन्धानमा लागेको देखिन्छ। यसै क्रममा विसं. २००७ सालमा इतिहासकार योगी नरहरिनाथले 'कीर्तिपताका' नामक साहित्यिक कृति पत्ता लगाए। योगीजीले यसलाई नेपाली भाषामा अनुवाद गरेपछि विसं. २०१८ सालमा जगदम्बा प्रकाशनबाट पुस्तकाकार रूपमा प्रकाशित भयो। यसपछि 'कीर्तिपताका' विषयमा डा. डिल्लीरमण रेग्मी र महेशराज पन्तले परिचर्चा गरेका हुन्।

'कीर्तिपताका'मा के छ?
'कीर्तिपताका' मूलतः प्रशस्तिपरक काव्य हो। यसको मौलिक ग्रन्थमा १३६ वटा श्लोकहरू रहेकोमा योगी नरहरिनाथले पुस्तक सम्पादनका क्रममा 'पटको टोल' का लागि एउटा श्लोक थपेपछि यसमा जम्मा १३७ वटा श्लोकहरू रहेका छन्। महेशराज पन्तका अनुसार, 'कीर्तिपताका' परिष्कृत संस्कृत भाषामा लेखिएको छैन। यस तर्कलाई कमलमणि दीक्षितले पनि समर्थन गरेका छन्।

मल्लकालीन राजप्रसाद भवन, गढी, किल्ला तथा कोटहरूको निर्माणमा वैदिक वास्तुकलाको प्रभाव परेको तथ्य वर्तमान संरचना र वैदिक वास्तुदर्शनको तुलनात्मक अध्ययनबाट जानकारी हुन्छ। मल्लकालीन वास्तुशास्त्रसम्बन्धी पुस्तकहरूमा पनि वैदिक वास्तुदर्शनको प्रभाव देखिन्छ।

कीर्तिपताकामा पाटन शहरको वर्णन गर्नेक्रममा यो शहर भव्य गढ वा किल्लाको रूपमा बनेको वर्णन छ। पाटन शहर र यहाँको किल्ला–वास्तुकलात्मक  संरचनाको अध्ययनका लागि यस काव्यको महत्त्व रहेको देखिन्छ। यद्यपि ‘प्रतिष्ठातन्त्र’ र ‘साद्यन्त कोष सार’ लगायतका  दर्जनौँ वास्तुकलासम्बन्धी ग्रन्थहरू मल्लकालमा लेखिएका थिए।

वैदिक किल्ला वा राजप्रसाद शास्त्रअनुसार, दरबार अग्लो पहाडमा हुनुपर्ने, वनदुर्ग, जलदुर्ग र गिरीदुर्गले घेरिएको हुनुपर्ने, वरिपरि अग्ला पर्खाल र खाई (खाडल) ले घेरिएको हुनुपर्ने, खाईमा विषालु साँप र गोहीहरू छोडिएको हुनुपर्ने, बलिया ढोका र बुर्जाहरू हुनुपर्नेजस्ता शैलीगत विशेषताको चर्चा गरिएको छ। यसै विशेषतालाई मल्लकाल तथा शाहकालीन गढीहरूको निर्माणमा अनुसरण गरिएको देखिन्छ। सिम्रौनगढको बाटो भएर यात्रा गर्ने तिब्बती तीर्थयात्री ध्रुवश्वामीले वैदिक वास्तुकलाको विशेषता अनुरूप नै  सिम्रौनगढको किल्ला संरचना रहेको चर्चा गरेका छन्। पाटन शहरमा पनि बलिया, किल्ला, खाई, पर्खालले घेरिएको र अग्ला ढोकाहरू रहेको चर्चा कुनु शर्माको वर्णनमा पाइन्छ।

केही उदाहरण हेरौँ,
“ललितपुरका प्रान्तमा खाईभित्र उम्रेका अग्ला–अग्ला हाँगा भएका रूखहरू शोभित छन्। तिनका टोटकामा नानाभाँतीका जीवजन्तु बसेर बसिरहन्छन् र बाघहरू पनि बास गर्छन्, भए लाग्छ। स्याल, साँप, सुँगुर र मुसाले माटो खनेका छन्। नाना प्रकारका लहराहरूले ठाउँ–ठाउँमा कुञ्ज परेका छन् (श्लोक ६)।”

शहरको सुरक्षाका लागि यसको वरिपरि घेरिएको खाई तथा नहरमा विषालु साँप, गोही, अजिंगरहरू, छोड्नुपर्छ भन्ने मान्यता अनुरूप पाटन शहरको वरिपरि साप, गोही, अजिंगरहरू छाडिएको कुनु शर्माको काव्यमा वर्णन छ।

अर्को नमूना हेरौँ,
“खाल, माछा, कछुवा, गँगटा, भ्यागुता, गोही, साँप, सिध्रा, जुका, बाम, गँडेला, गँदिउला, शिशुकुमार, सिपी, शङ्ख आदि र अनेक प्रकारका किराहरूले अति गहिरो खाई अँध्यारो पाताल जस्तो दुवैतिरका अग्ला र घना रुख र लहराहरूका छायाले ढाकिराखेको छ।।श्लोक नं ६।।”

सांख्य दर्शनको २५ तत्त्व र ईश्वर तत्त्व गरी जम्मा २६ वटा टोल पाटन शहरमा रहेको कुनु शर्माले 'कीर्तिपताका'मा चर्चा गरेका छन्। तर, सोही काव्यमा २६ भन्दा बढी टोलहरूको उल्लेख भएको देखिन्छ। विशेषतः श्लोक १०० देखि १०४ सम्म पाटन दरबारको राजसभा र यशोगानको वर्णन गरिएको छ। त्यस्तै, श्लोक १०५ देखि १३४ सम्म जम्मा ३४ वटा श्लोकमा श्रीनिवास मल्लको व्यक्तित्वबारे वर्णन गरिएको छ। उनको व्यक्तित्वको गुणगान गाउँदै पद, प्रतिष्ठा र यशोगानले काव्यलाई अतिरञ्जनात्मक बनाउँदा उनको वास्तविक व्यक्तित्व भने ओझेलमा परेको देखिन्छ।

वस्तुतः कुनु शर्माद्वारा लिखित 'कीर्तिपताका' नामक ग्रन्थ किल्ला वा वास्तुशास्त्र नभई प्रशस्तिपरक काव्य हो। यस आलेखमा 'कीर्तिपताका'मा वर्णित पाटन दरबार, शहर वा किल्लाको वास्तुकलाको भव्यतामा वैदिक वास्तुदर्शनको प्रभाव देखिएको विश्लेषण गरिएको छ।

यसमा वर्णित सन्दर्भहरू हेर्दा पाटन शहरको सुरक्षाका लागि राजाहरू निकै उत्सुक थिए, जसले वैदिक वास्तुकलात्मक ढाँचा र शैलीगत विशेषतालाई जोड दिएको देखिन्छ। अग्लो स्थानमा किल्ला निर्माण गर्नुपर्ने, किल्लाको वरिपरि खाई वा अग्लो पर्खाल हुनुपर्ने वा बुर्जाहरू हुनुपर्ने शैलीगत विशेषता पाटन शहरको संरचनात्मक अध्ययनबाट प्रमाणित हुन्छ।

अन्त्यमा, 'कीर्तिपताका'को अध्ययनबाट मल्लकालको सामाजिक, सांस्कृतिक, राजनीतिक लगायत विविध पक्षहरूको जानकारी प्राप्त हुन्छ। 'कीर्तिपताका'मा वर्णित २६ वटा टोलहरूलाई हाल के नामले चिनिन्छ भन्ने विषयमा भने थप अध्ययन र अनुसन्धानको आवश्यकता छ।

इतिहासको उजागर

बिमला घिमिरे

1 week ago