सगरमाथा क्षेत्रमा तीन दिनदेखि उडान ठप्प, लुक्ला र नाम्चेमा रोकिए पर्यटक

लुक्ला र नाम्चे बजारका होटल पर्यटकले भरिएका छन्। नाम्चेमा मात्रै करिब एक हजार २०० पर्यटक रोकिएको जनाइएको छ।

सोलुखुम्बु– प्रतिकूल मौसमका कारण लुक्लास्थित तेन्जिङ–हिलारी विमानस्थलमा तीन दिनदेखि हवाई उडान ठप्प छ। निरन्तर सिमसिमे पानी परिरहेको छ भने आकाश कुहिरोले छोपिएको छ।  

उडान ठप्प हुँदा लुक्लादेखि नाम्चे बजारसम्मका होटल पर्यटकले भरिएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका हवाई ट्राफिक नियन्त्रक (एटीसी) नवराज कटुवालका अनुसार निरन्तर झरी परेकाले बिहीबारदेखि हवाई उडान हुन सकेको छैन। 

यस याममा दैनिक औसत ६० भन्दा हवाई उडान हुने गरिए पनि अहिले सबै ठप्प भएको उनले बताए। “झरी परेकाले भिजिबिलिटी न्यून त, विमान मात्रै नभई हेलिकप्टरको उडान पनि हुन सकेको छैन, बिहीबार केही हेलिकप्टरको उडान भए पनि अहिले भएको छैन,” उनले भने।

हवाई उडान रोकिएसँगै खुम्बु क्षेत्र भ्रमण गरी फर्कने तयारीमा रहेका पर्यटक लुक्लामै अड्किएका छन्। यतिबेला लुक्लाका होटल र गेस्टहाउस पर्यटकले भरिएका छन्। 

तारा एयरलाइन्स लुक्लाका इन्चार्ज अमृत मगरका अनुसार एयरलाइन्सबाट टिकट काटेका करिब एक हजार ५०० पर्यटक लुक्लामै अड्किएका छन्। “लुक्लाका सबै होटल भरिएका छन्, नयाँ पाहुनाका लागि कोठा पाउन मुस्किल भएको छ,” उनले भने। 

पर्यटकलाई लबीमै बसाल्नु परेको स्थानीय तोयाकुमार श्रेष्ठले बताए। फ्रान्सबाट आएकी पर्यटक ज्युली मारीले आफूहरू हवाई उडानको प्रतीक्षामा रहेको बताइन्। “हामी सगरमाथा आधारशिविर पुगेर तीन दिनअघि लुक्ला फर्किएका छौँ, हवाई नहुँदा यही रोकिएको अवस्था छ,” उनले भनिन्। 

नाम्चे बजारका होटल पनि पर्यटकले भरिएका छन्। नाम्चेमा मात्रै करिब एक हजार २०० पर्यटक रोकिएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताए। 

“लगातारको झरी र माथिल्लो क्षेत्रमा हिउँ परिरहेको छ, माथिल्लो क्षेत्रमा गएका पर्यटक नाम्चे आइपुगेका छन्, लुक्लाबाट माथि हिँडेका पर्यटक पनि नाम्चेमै अड्किएका छन्,” उनले भने, “यतिबेला पर्यटकले नाम्चेका होटलमा शतप्रतिशत अकुपेन्सी छ।”

नाम्चे पुगेका टेक राईका अनुसार नाम्चेमा चार दिनदेखि घाम लागेको छैन। पाहुनाहरू पुस्तक पढ्दै, संगीत सुन्दै दिन कटाइरहेका छन्। 

उडान ठप्प भएपछि केही पर्यटक भने लुक्लाबाट सल्लेरी हुँदै स्थलमार्गबाट काठमाडौँ फर्किने प्रयासमा छन्। तर त्यो बाटो पनि सहज छैन। पर्यटन व्यवसायी बल दर्नालका अनुसार बर्खाका कारण सोलुखुम्बु–काठमाडौँ सडकखण्डका विभिन्न ठाउँमा पहिरो र हिलोका कारण आवागमन अवरुद्ध भएको छ। 

विशेषगरी बीपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोक र सिन्धुली आसपासमा भारी वर्षा र हिलोका कारण सवारीसाधन घण्टौँसम्म जाममा बस्नुपर्ने अवस्था छ। 

सोलुखुम्बुमा अझै वर्षा रोकिएको छैन। मौसमविद् सरोज पुडासैनीका अनुसार मनसुन अझै सक्रिय छ र अहिले पनि भारी वर्षा र हिमपात हुने सम्भावना छ। “हिमाली र पहाडी क्षेत्रमा अझै दुईदेखि तीन दिनसम्म वर्षा हुने सम्भावना छ, त्यसपछि मात्र मौसम खुल्ने अनुमान छ,” उनले भने।