निर्वाचनबारे प्रधानमन्त्री कार्कीले कांग्रेस महामन्त्रीद्वय थापा र शर्मासँग गरिन् छलफल

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचनमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्नेमा जोड दिएकी थिइन्।

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी छन्। विभिन्न राजनीतिक दलका नेताहरूसँग निर्वाचनका विषयमा परामर्श गर्ने क्रममा उनले शनिबार महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनबारे हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी तथा आगामी दिनमा गर्नुपर्ने कामका विषयमा छलफल गरेकी हुन्। 

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठका अनुसार, छलफलका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचनमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्नेमा जोड दिएकी थिइन्। 

“औपचारिक निर्णय गर्न बाँकी भए पनि कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ। शीघ्र यसबारे आधिकारिक निर्णय पनि गर्छौं। नेकपा एमाले पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनबाट भाग्न सक्दैन भन्ने विश्वास छ,” सो क्रममा महामन्त्रीद्वयको भनाइ थियो, “एमालेलाई सहमतिमा ल्याउन सरकारले पनि थप प्रयास गर्नुपर्ने देखिन्छ। हामी पनि प्रयासरत छौँ।”

महामन्त्रीद्वय थापा र शर्माले आफ्नो पार्टीले जेनजी युवासहित अन्य दलसँग पनि शीघ्र निर्वाचनलगायत समसामयिक विषयमा गहन संवाद गर्ने बताए। महामन्त्रीद्वयले जेनजी युवालगायत सबै राजनीतिक दलसँग गहन छलफल गरेर युवा आन्दोलनका मागलाई निर्वाचनअघि कसरी सम्बोधन गर्न सकिन्छ र निर्वाचनपछिको संसद्को पहिलो बैठकले गर्ने निर्णयहरूबारे अहिले नै सहमति गरेर जानुपर्ने धारणा राखे।

प्रधानमन्त्री कार्कीले एमालेका नेतालाई पनि छलफलका लागि बोलाएकी थिइन्। शनिबार एमाले सचिवालय बैठक परेकाले छलफल अर्को दिन गर्ने जानकारी एमाले नेतृत्वले बालुवाटारमा गराएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले बताए।

प्रधानमन्त्री कार्कीले यसअघि पनि विभिन्न चरणमा फरक–फरक दलका नेताहरूसँग छलफल गरेकी थिइन्। प्रधानमन्त्रीकै आह्वानमा यसअघि सरकार, राजनीतिक दल र जेनजी युवाबीच त्रिपक्षीय संवाद पनि भइसकेको छ।