आईसीसी लिग-२: नेपालको लगातार तेस्रो पराजय

दुबई अन्तर्राष्ट्रिय रंगशालामा शनिबार भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भयो।

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय शृंखलामा नेपाल अमेरिकासँग पराजित भएको छ।

जारी शृंखलामा नेपालको लगातार तेस्रो पराजित भएको हो। यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँगै १०६ रन र दोस्रो खेलमा यूएईसँग पाँच विकेटले पराजित भएको थियो।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा शनिबार भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भयो। जितका लागि २७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो।

अमेरिकाको जितका लागि सैतेजा मुकामुल्ला र मिलिन्ड कुमारले अर्धशतकीय इनिङ्स खेले। मुकामुल्लाले ७५ र कुमारले ७० रनको योगदान दिए। ओपनर सायन जहानगीरले ३६, मोनांक पटेलले २१, शुवम् रन्जनेले १९ र स्मित पटेलले १६ रन बनाए। त्यस्तै, सन्जय कृष्णमुर्तिले अविजित १५ र हर्मित सिंहले अविजित १३ रन जोडे।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन तथा गुल्शन झा, नन्दन यादव र करण केसीले एक/एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा २७१ रन बनाएको थियो। नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ६७ बलमा तीन छक्का र दुई चौकासहित ७५ रन बनाए।

यस्तै, करण केसीले ३१ बलमा तीन छक्का र दुई चौकाको सहयोगमा ४९ रन बनाए।

ओपनर कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ रनको योगदान दिए। नेपालका अन्य ब्याट्सम्यानहरूले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ अमेरिकाका हरमित सिंहले तीन तथा नोस्थुश केन्जिगे र सौरव नेत्रवल्करले २/२ विकेट लिए।

जितपछि अमेरिका २३ खेलबाट ३४ अंकसहित शीर्षस्थानमा छ। पराजित भएको नेपाल भने १९ खेलबाट १२ अंक जोड्दै सातौँ स्थानमा छ। १८ खेलबाट आठ अंकसहित यूएई अन्तिममा छ। अब नेपालले यो शृंखलाको अन्तिम खेल बुधबार यूएईसँग खेल्नेछ।