धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

विराटनगरबाट धनगढीतर्फ गइरहेको बसले विपरीत दिशाबाट आउँदै गरेको अटोलाई शनिबार साँझ ठक्कर दिएको थियो।

काठमाडौँ– धनुषाको गणेशमान चारनाथ नगरपालिका– १ वीरेन्द्र बजारमा बसले अटो रिक्सालाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ। अन्य दुईजना गम्भीर घाइते भएका छन्।

विराटनगरबाट धनगढीतर्फ गइरहेको बसले विपरीत दिशाबाट आउँदै गरेको अटोलाई शनिबार साँझ ठक्कर दिएको थियो।

दुर्घटनामा गणेशमान चारनाथ– १ भरतपुरका धनबहादुर मगर, शम्भु मगर, निशा मगर र अटोरिक्सा चालक डम्बर राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि वीरगन्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको गणेशमान चारनाथ नगरपालिका-१ का वडाध्यक्ष श्यामकुमार आलेमगरले बताए। दुर्घटनामा १४ वर्षीया शीतल मगर र ९ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन्।

घाइतेको जनकपुरधामस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ।