बन्चरेडाँडा ल्यान्डफिल साइट: १५ दिनभित्र सहमति कार्यान्वयनको प्रक्रिया बढाउने मन्त्री घिसिङको प्रतिबद्धता

ल्यान्डफिल साइटमा जथाभाबी फोहोर फालिएको गुनासो सम्बोधन गर्न शहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित पालिकाका एक/एक जना प्रतिनिधि रहने गरी अनुगमन समिति बनाइने भएको छ।

काठमाडौँ– काठमाडौँ उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गर्न विगत पाँच दिनदेखि भइरहेको अवरोध हटेको छ। अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौँमा फोहोर लोड भएका गाडी ल्यान्डफिल साइटतर्फ जान थालेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री घिसिङले बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध हटेको हो।

मन्त्री घिसिङले प्रभावित बासिन्दासँग विगतमा भएका सहमति एवं सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए। उनले सहमति कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन १५ दिनको समय माग गर्दै फोहोर फाल्न अवरोध नगर्न अनुरोध गरेका थिए।

स्थानीयले उठाउँदै आएको लिच्चड व्यवस्थापनका लागि शहरी विकास मन्त्रालयको संयोजनमा सबै सरोकारवाला निकाय सम्मिलित समिति बनाइने भएको छ। पोखरीमा जम्मा भएको लिच्चड खोलामा जान नदिन पुनः प्रयोग (रिसाइकल) गर्न तत्काल बिग्रेको पम्प मर्मत गरी सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ।

ल्यान्डफिल साइटमा जथाभाबी फोहोर फालिएको गुनासो सम्बोधन गर्न शहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित पालिकाका एक/एक जना प्रतिनिधि रहने गरी अनुगमन समिति बनाइने भएको छ।

रात्रिकालीन फोहोर व्यवस्थापन गर्न साइटमा आवश्यक पर्ने बत्तीको व्यवस्था गरिने प्रतिबद्धता जनाउँदै मन्त्री घिसिङले सोमबारबाटै बत्ती राख्न शुरू गरिने बताए। यसका लागि उनले प्राधिकरणका कार्यकारी निर्देशक र नुवाकोट वितरण केन्द्र प्रमुखलाई निर्देशन दिइसकेका छन्।

वैज्ञानिक फोहोर व्यवस्थापनका लागि फोहोर छुट्याउन विभिन्न ठाउँमा पहिचान भएका सार्वजनिक जग्गा स्थानीय तहलाई उपलब्ध गराउन मन्त्रिपरिषद्बाट आवश्यक निर्णय लिइने जानकारी उनले गराए।

ल्यान्डफिल साइटबाट प्रभावित हुने क्षेत्रको यकिन गर्न चार सिजनको तथ्यांक आवश्यक पर्ने भएकाले पूरक वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सम्पन्न गर्न केही समय लाग्ने देखिएकाले यस्तो अवस्थालाई बुझिदिन उनले स्थानीयलाई आग्रहसमेत गरे।

मन्त्री घिसिङले ईआईएपछि प्रभावित क्षेत्रको पहिचान हुने भएकाले सोही बमोजिम जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढ्ने बताए।

दीर्घकालीन रूपमा फोहोर व्यवस्थापनका लागि लगानी बोर्डले अगाडि बढाइएको प्रक्रियामा भएको कानूनी अड्चन काठमाडौँ उपत्यकाका मेयर्स फोरमलाई समेत सहभागी गराएर समाधान गरिने उनले उल्लेख गरे।

फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका लागि मन्त्री घिसिङ, शहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौँ, नुवाकोट तथा धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौँ महानगरपालिका कार्यकारी अधिकृतसहितको टोली लिएर आइतबार बिहान बन्चरेडाँडा ल्यान्डफिल साइटमा गएका थिए।

टोलीले फोहोर विसर्जन गर्ने ठाउँको स्थलगत निरीक्षण गर्नुका साथै ल्यान्डफिल साइट पर्ने धादिङको धुनिवेशी नगरपालिकाका प्रमुख, नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष, प्रभावित वडाका वडाध्यक्षहरू र स्थानीय बासिन्दासँग अन्तर्क्रिया गरेको थियो।