भक्तपुरको बाल सुधारगृहबाट भागेका २० बन्दीमध्ये १५ जना पक्राउ

भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट आइतबार दिउँसो ढोका तोडेर भागेका २० मध्ये १५ जनालाई प्रहरीले विभिन्न ठाउँबाट पुनः पक्राउ गरेको छ।

प्रतीकात्मक तस्वीर

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट आइतबार दिउँसो ढोका तोडेर भागेका २० जना बन्दीमध्ये हालसम्म १५ जनालाई विभिन्न ठाउँबाट पुनः पक्राउ गरिएको छ।

बाँकीको खोजी भइरहेको र आइतबार साँझसम्म उनीहरूलाई पक्राउ गर्ने गरी प्रयास भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाले बताए।

सुधारगृहमा क्षमताभन्दा दोब्बर बन्दी राखिएको र बाल सुधारगृह भनिए पनि युवाहरूलाई समेत बन्दीका रूपमा त्यहीँ राख्न थालेपछि झडप र तोडफोड हुँदै आएको छ।

फरार कैदी र लागुऔषध प्रयोगकर्तासहित पाँच पक्राउ
त्यस्तै, जिल्ला प्रहरी कार्यालय सुर्खेतले काठमाडौँ कारागारबाट फरार एक कैदीसहित पाँच जना लागुऔषध प्रयोगकर्तालाई आज वीरेन्द्रनगरबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमध्ये ‘जेन–जी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते काठमाडौँ कारागारबाट फरार भएका जगन्नाथ देवल पनि रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए। उनलाई थप कैदका लागि कारागार कार्यालय सुर्खेतमा पठाइएको उनले बताए।

यसैगरी, वीरेन्द्रनगर नगरपालिका–७, ८, ११ र १२ नं वडाबाट पाँच जना लागुऔषध प्रयोगकर्तालाई पनि पक्राउ गरिएको उनले जनाए। प्रवक्ता बुढ्थापाका अनुसार पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत निवासी ३० वर्षीय नरेन्द्र ठाडा र वडा नं ८ का १९ वर्षीय ललिता तामाङ, १८ वर्षीय रमेश सुनार, वडा नं ११ का २० वर्षीय विशाल ठाडा मगर, वडा नं १२ का २२ वर्षीय राजु सुनार रहेका छन्। नरेन्द्र र ललिताबाट ५३० मिलिग्राम र रमेश, विशाल र राजुबाट दुई ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको छ।

गोप्य सूचनाका आधारमा प्रहरी तथा लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले नेपालगञ्जदेखि सुर्खेततर्फ आउँदै गरेको क प्र ०२–००१ ज ०७०९ नंको इभी गाडीलाई रोकेर जाँच गरेको थियो। जाँचका क्रममा ब्राउनसुगरसहित उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता बुढथापाले बताए।