माओवादी केन्द्र, एकीकृत समाजवादीसहित आठ वामपन्थी दलबीच एकता सहमति भएको छ। यी दलहरूले कात्तिक १९ गते (बुधबार) संयुक्त सम्मेलन गरी पार्टी एकता घोषणा गर्ने भएका छन्।
काठमाडौँ– नेपालका आठ वामपन्थी दलहरूबीच पार्टी एकता सहमति भएको छ। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका आठ दलले आइतबार ‘पार्टी एकता सहमति पत्र’ जारी गर्दै कात्तिक १९ गते एकता घोषणा गर्ने जनाएका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र आर्थिक रूपान्तरणमार्फत समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्ने उद्देश्यसहित पार्टी एकता गर्न लागिएको उनीहरूले बताएका छन्।
१८ बुँदे ‘पार्टी एकता सहमति पत्र’मा हस्ताक्षर गर्ने दलहरूमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (माओवादी–समाजवादी), नेकपा (साम्यवादी) र जनसमाजवादी पार्टी नेपाल रहेका छन्।
सहमतिअनुसार आगामी कात्तिक १९ गते सहभागी सबै घटक दलका केन्द्रीय समितिहरूको संयुक्त भेलाको रूपमा एकता राष्ट्रिय सम्मेलन आयोजना हुनेछ। उक्त सम्मेलनले पार्टी एकताको घोषणा, घोषणापत्र, अन्तरिम विधान पारित गर्ने र नयाँ केन्द्रीय समिति गठन गर्ने निर्णय भएको छ।
एकता सम्मेलनपछि ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिने छ। नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ रहने र चुनावी चिन्ह 'पाँचकुने तारा' तय गरिएको छ।
सहमति पत्रमा पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र नेपाली क्रान्तिको कार्यक्रम ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ हुने उल्लेख गरिएको छ। आन्दोलन मुख्यतः शान्तिपूर्ण रहने र परिस्थितिअनुसार सडक, सदन तथा सरकार लगायत सबै मोर्चामा सक्रिय भूमिका रहने सहमति पनि गरिएको छ।
पार्टीको संरचनाअनुसार केन्द्रदेखि वडा तहसम्म संयोजक र सहसंयोजक प्रणाली रहनेछ। सबै तहका समितिहरूमा सहभागी दलहरूबाट समानुपातिक समायोजन गरिने तथा समितिहरू जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार सामूहिक नेतृत्व प्रणालीमा सञ्चालन हुने उल्लेख छ। वैचारिक–राजनीतिक मतभेदका विषयमा भने निरन्तर छलफल गर्दै अन्ततः एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुग्ने सहमति गरिएको छ।
सहमति पत्रमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत अन्य सहभागी दलका शीर्ष नेताहरूले हस्ताक्षर गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
