पेट्रोलियम पदार्थ अवैध रूपमा बेच्दै गर्दा ट्यांकर चालकसहित ४ जना पक्राउ

पेट्रोलियम पदार्थ अवैध रूपमा बिक्री गरिरहेको अवस्थामा प्रहरीले ट्यांकर चालकसहित चार जनालाई पक्राउ गरेको छ।

प्रतीकात्मक तस्वीर

बागमती– नेपाल आयल निगम थानकोट डिपोको नाममा रहेको पेट्रोलियम पदार्थ अवैध रूपमा बिक्री गरिरहेको अवस्थामा प्रहरीले ट्यांकर चालकसहित चार जनालाई पक्राउ गरेको छ।

नेपाल आयल निगम अम्लेखगञ्जबाट थानकोट डिपोका लागि काठमाडौँ जाँदै गरेको ना४ख ९३७७ नम्बरको ट्यांकरबाट मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित जयशिव शरणम् फ्युल सेन्टर प्रालिमा अवैध रूपमा पेट्रोल झिक्ने कार्य भइरहेको थियो। 

ट्यांकर चालक र पम्पमा काम गर्ने तीन जनालाई सोही अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए।

प्रहरीको पक्राउ परेकाहरूको नाम, थर र ठेगाना भने खुलाएको छैन। चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए।