सरकार भ्रष्टाचार नियन्त्रण र सुशासनमा केन्द्रित छ: प्रधानमन्त्री दाहाल

सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तसँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकतामा रहेको बताएका छन्। 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको भूमिका प्रभावकारी हुनुपर्ने बताएका छन्।

आइतबार बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तसँगको छलफलमा प्रधानमन्त्री दाहालले  जसका लागि राष्ट्रिय संस्कृति र जागरण जरुरी रहेको उल्लेख गरे। “सामाजिक न्याय, सुशासन र समृद्धि नै सरकारको प्रमुख प्राथमिकतामा छ। सरकारका सचिवसँगको छलफलमा पनि मैले त्यही कुरा राखेको छु।

जनताले हामीप्रति आशाको नजरले हेरिरहेका छन्”, उनले भने, “अब केही हुन्छ। नयाँ हुन्छ, सुशासन र समृद्धि हासिल हुन्छ भन्ने प्रतिबद्धतासहित हामीले काम गर्नु छ।” सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रममा पनि सुशासनलाई उच्च प्राथमिकता दिएको उनको भनाइ थियो। “सुशासन र समृद्धिका निम्ति सरकार गम्भीर भएर लाग्छ। यसमा यहाँहरूको थप सहयोग चाहिन्छ। आयोगका लागि चाहिने सबै सहयोग सरकारले गर्छ”, प्रधानमन्त्री दाहालले भने। 

छलफलका क्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले वर्तमान सरकार गठनपछि सुशासनका पक्षमा गरिएको प्रारम्भिक प्रयासले आफूहरू उत्साहित भएको बताए। प्रधानमन्त्रीले सरकारका सचिवलाई गरेको निर्देशनात्मक सम्बोधनले आयोग उत्साहित भएको र राज्यका सबै अंग जिम्मेवार भएर लाग्दा भ्रष्टाचार नियन्त्रणमा परिणाम हासिल गर्न सकिने राईको भनाइ थियो।

आयोगले संसदमा विचाराधीन ऐन संशोधनको प्रस्तावलाई अगाडि बढाउन, आयोगको क्षमता अभिवृद्धि र कार्यक्षेत्र बिस्तारका निम्ति अभिभावकीय भूमिका निर्वाह गर्न पनि प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ।