रानाले चिसो मौसममा कन्या र गर्मीमा मिल्की च्याउको खेती गर्छन्। मिल्की च्याउ डल्ला राखेको १५ दिनमा र कन्या च्याउ २० देखि २५ दिनमा तयार हुने उनको भनाइ छ।
कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २९ वर्षीय वीरबहादुर रानाले आधुनिक प्रविधिबाट च्याउखेती गरेर गाउँमै आत्मनिर्भर किसानको उदाहरण प्रस्तुत गरेका छन्।
१८ महिने कृषि (जेटीए) अध्ययन गरेका रानाले हाइटेक टनेलमा मौसमी र बेमौसमी च्याउ उत्पादन गर्दै वार्षिक १५ लाखभन्दा बढीको च्याउ बिक्री गर्छन्। खर्च कटाएर वर्षमा झन्डै १० लाख रुपैयाँ नाफा हुने उनी बताउँछन्।
रानाले चिसो मौसममा कन्या र गर्मीमा मिल्की च्याउको खेती गर्छन्। मिल्की च्याउ डल्ला राखेको १५ दिनमा र कन्या च्याउ २० देखि २५ दिनमा तयार हुने उनको भनाइ छ। पिंकी च्याउको पनि उत्पादन गरे पनि हाल बजार अभावका कारण त्यो खेती स्थगित गरिएको उनले बताए।
महेन्द्रनगर र झलारी बजारमा बेमौसमी कन्या च्याउको थोक मूल्य प्रतिकिलो ३५० रुपैयाँ र मौसमी समयमा १०० रुपैयाँमा बिक्री गर्छन् भने मिल्की च्याउ प्रतिकिलो ४०० रुपैयाँमा बिक्री हुने गरेको छ। माग बढेसँगै उनले बाह्य बजारमा पनि च्याउको आपूर्तिसमेत गर्दै आएका छन्। विवाह, भोजभतेर र चाडपर्वमा च्याउको माग उच्च रहन्छ। हाल माग आएका स्थानमा उहाँ मोटरसाइकलमार्फत च्याउ ढुवानी गर्छन्।
विसं २०७७ मा जेटीए अध्ययनका क्रममा विद्यालयमा पढेको ज्ञानलाई व्यवहारमा उतार्दै उहाँले घरकै गोठको एक कुनामा पहिलोपटक च्याउखेती गर्न शुरू गरेका थिए। घरमा उपलब्ध भाँडाकुँडामै पराल उमालेर, खटियामा सुकाएर २५ वटा परालका डल्ला बनाएर बीउ राखे। उत्पादन राम्रो भएपछि उनले यसलाई व्यावसायिक रूपमा विस्तार गरे।
पहिलो सफलतापछि उनले बाँसको झुपडीमा ५०० परालका डल्ला राखेर मौसमी च्याउखेती शुरू गरे। बजारमा सहज बिक्री भएपछि व्यवसाय विस्तार गर्न हौसला मिलेको उनी सम्झन्छन्।
हाल रानासँग च्याउखेतीका लागि फलामका छवटा हाइटेक टनेल छन्। ६ वटै टनेलमा निरन्तर वर्षभरि च्याउ उत्पादन भइरहेको छ। पराल काट्न, उमाल्न र सुकाउन आधुनिक मेसिनको प्रयोग हुने गरेको छ। केही उपकरण र टनेल अनुदानमा प्राप्त भए पनि धेरैजसो उपकरण उनले आफ्नै आम्दानीबाट खरिद गरेका हुन्।
आधुनिक प्रविधिको प्रयोगले समय, जनशक्ति र खर्च तीन वटैमा बचत हुने उनको भनाइ छ। च्याउ उत्पादनमा उनका श्रीमतीसहित घरपरिवारका सदस्यले साथ दिने गरेका छन्। कामको चाप अधिक भएका बेला कामदारलाई ज्यालादारीमा राखेर काम लिन्छन्।
“बिक्री नभएको च्याउ सुकाएर दोब्बर मूल्यमा बेच्न सकिन्छ,” उनले भने, “त्यसका लागि अहिले आधुनिक इलेक्ट्रोनिक ड्रायर खरिद गर्ने योजना बनाएको छु।” हाल उनको च्याउ उत्पादनमा झन्डै २० लाख रुपैयाँ बराबरको लगानी रहेको छ। भविष्यमा लगानी बढाएर डल्ले च्याउको उत्पादन शुरू गर्ने तयारीमा उनी छन्।
रानाले च्याउखेतीमा गुणस्तरीय बीउको प्रयोग अत्यावश्यक रहेको बताए। “बीउ राम्रो भए उत्पादन पनि राम्रो हुन्छ, गुणस्तरहीन बीउले फसल कमजोर बनाउँछ,” उनले भने, “त्यसैले बीउ उत्पादकहरूले गुणस्तरमा ध्यान दिनुपर्छ।”
च्याउमा पनि अन्य बालीजस्तै रोगब्याधि लाग्ने भएकाले समयमै उपचार आवश्यक हुने रानाको भनाइ छ। उनले विद्यालयमा सिकेको कृषि ज्ञानले नै आजको सफलताको बाटो देखाएको बताए। “च्याउखेतीलाई थप विस्तार गर्न आधुनिक तालिम र प्रविधिको आवश्यकता छ,” उनले भने, “कृषिसम्बन्धी निकायले त्यसमा चासो देखाउनुपर्छ।”
हालसम्म आफ्नै प्रयासमा च्याउखेती विस्तार गर्दै आएका राना अन्य युवाका लागि पनि प्रेरणाको स्रोत बनेका छन्। गाउँमा बस्दै आधुनिक प्रविधिबाट सफल हुन सकिन्छ भन्ने सन्देश उनको सफलताले दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
