जाँचबुझ आयोगको पत्रपछि प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशन

जाँचबुझ आयोगको पत्राचारपछि, प्रहरी प्रधान कार्यालयले ‘जेनजी’ आन्दोलनमा बढी क्षति भएका क्षेत्रमा खटिएका इन्चार्जहरूलाई तत्कालका लागि उपत्यका नछाड्न निर्देशन दिएको छ।

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालयले काठमाडौँ उपत्यका प्रहरी कार्यालय मातहतका प्रहरी इन्चार्जहरूलाई तत्कालका लागि उपत्यका नछाड्न निर्देशन दिएको छ। गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले सोधपुछका लागि आवश्यक पर्ने भन्दै पत्राचार गरेपछि प्रधान कार्यालयले यस्तो निर्देशन दिएको हो।

प्रहरी प्रधान कार्यालयका अनुसार, आयोगले बढी क्षति भएका क्षेत्रहरूमा खटिएका प्रहरी इन्चार्जहरूलाई घटनाबारे सोधपुछका लागि जुनसुकै समयमा पनि उपस्थित गराउनुपर्ने भएकाले, उनीहरूलाई हाललाई उपत्यका नछाड्ने व्यवस्था मिलाउन उपत्यका प्रहरी कार्यालयलाई अनुरोध गरिएको हो।

भदौ २३ र २४ गते काठमाडौँ उपत्यकामा भएको ‘जेनजी आन्दोलन’का क्रममा आगजनी, लुटपाट तथा ठूलो जनधनको क्षति भएको थियो। यसै घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन तयार गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग, २०८२ गठन गरेको थियो। आयोगले अहिले घटना नियन्त्रणमा खटिएका र घटनास्थलको जिम्मेवारी लिएका प्रहरी अधिकारीहरूसँगको सोधपुछ प्रक्रियालाई अगाडि बढाएको छ।