राष्ट्रपतिले साझा बस चढ्दा किन राखियो पिर्का?

ब्लड क्यान्सरको उपचारका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको कम्मरको जोर्नीका हड्डी प्रत्यारोपण गरिएको थियो। त्यहीकारण, खुट्टा धेरै खुम्च्याउन नमिल्ने हुँदा गाडी चढ्दा र ओर्लिँदा पिर्का राखिएको हो।

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार शीतलनिवासबाट साझा बस चढेर पाटन जाँदा बसमा चढ्न र ओर्लन प्रयोग गरेको पिर्का सामाजिक सञ्जालमा भाइरल बनेको छ।राष्ट्रपतिको ‘राजसी ठाँट’ भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना पनि गरिएको छ।

राष्ट्रपति भण्डारी शुरूमा पाटनढोकास्थित मदन पुरस्कार पुस्तकालय अवलोकनका लागि पुगेकी थिइन्। त्यहाँबाट उनी भर्खरै पुनर्निमाण गरिएको पिम्बहाः पोखरी पुगेकी थिइन्, जहाँ ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उनलाई स्वागत गरेका थिए। 

राष्ट्रपति ललितपुरका यी दुई कार्यक्रममा सहभागी हुँदा साझा यातायातले भर्खरै भित्र्याएको विद्युतीय बस चढेकी थिइन्। विद्युतीय बस प्रवर्द्धनका लागि उनी साझाकै बस चढेर गएकी हुन्। फर्कँदा पनि उनले विद्युतीय बस नै प्रयोग गरेकी थिइन्। 

राष्ट्रपति भण्डारी बसमा चढ्दा र ओर्लिँदा उनको सहजताका लागि पिर्का राखिएको थियो। सामाजिक सञ्जालमा आलोचना गर्नेमध्ये केहीले दूरदराजका वृद्धवृद्धासमेत बसमा सजिलै चढ्ने गरेको टिप्पणी गरेका छन्। 

कतिपयले पछिल्लो समय आलोचना हुने गरेको ‘पिर्के सलामी’सँग जोडेर पनि आलोचना गरेका छन्। संघीय सरकारका मन्त्रीदेखि प्रदेश सरकारका मन्त्री र स्थानीय जनप्रतिनिधिसम्मले विभिन्न अवसरमा पिर्के सलामी लिने गरेका छन्। 

तर, राष्ट्रपति कार्यालयले भने भण्डारीको स्वास्थ्यको कारण गाडी चढ्दा र ओर्लँदा पिर्का राख्नु परेको जनाएको छ। अहिले ६१ वर्ष पुगेकी भण्डारीलाई राष्ट्रपति हुनुअघि ब्लड क्यान्सर भएको थियो। “राष्ट्रपतिज्यूको ब्लड क्यान्सरको उपचार गरेपछि खुट्टामा समस्या छ। सामान्य तवरबाट घुँडा खुम्च्याउन मिल्दैन। त्यसैले, उहाँको स्वास्थ्यका कारणले पिर्का राख्नुपरेको हो”, राष्ट्रपति कार्यालयले भनेको छ। 

राष्ट्रपति भण्डारीलाई करिब डेढ दशकअघि ब्लड क्यान्सर भएको हो। त्यसपछि उनले लामो समय भारतमा बसेर उपचार गरेकी थिइन्। त्यसकै असरले अहिलेसम्म उनले घुँडा राम्रोसँग खुम्च्याउन नमिल्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ टीका ढकालले स्वास्थ्यमा समस्याकै कारण राष्ट्रपतिले घुँडा खुम्चाउन नमिल्ने भएकाले उहाँलाई साझा बस चढ्दा पिर्का राख्नु परेको बताए। “किमोथेरापीपछि कम्मरको जोर्नीको दुवै हड्डी प्रत्यारोपण अर्थात्, हिप रिप्लेस्मेन्ट गरिएका कारण गाडी चढ्दा र ओर्लिँदा ढोका तथा भुइँको बीचमा पिर्का आवश्यक परेको हो। हिप रिप्लेस्मेन्ट गरेका व्यक्तिहरूले यस्तो सावधानी नअपनाउने हो भने हिप डिस्लोकेट हुने डाक्टरले बताएका छन्”, ढकालले भने। 

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितका अनुसार साझाको बसमा पछाडिबाट उक्लन र ओर्लन ‘र्‍याम्प’ छ। अगाडि भने र्‍याम्प राखिएको छैन। तर, राष्ट्रपतिलाई बसको अगाडिबाट नै ओर्लन पर्छ भन्ने प्रोटोकल बनाइएका कारण ओर्लँदा सहज होस् भनेर पिर्का राखिएको उनले बताए।

“स्वास्थ्य समस्या छ भने साधारण यात्रु होस् या भीआईपी, जो कसैलाई यस्तो सुविधा दिनु पर्ने सबैको कर्तव्य हो। त्यसैले सूचना नपुगेका कारण मात्रै नकारात्मक टिप्पणी भइरहेको जस्तो मलाई लाग्छ”, दीक्षितले भने।