वन अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा, १ करोड ४३ करोड अकूत सम्पत्ति आर्जन गरेको दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध विशेष अदालतमा गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, इलाममा कार्यरत रही हाल भोजपुरमा रहेका डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर भएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, अधिकृत दशौँ तहमा कार्यरत श्रेष्ठले एक करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको पाइएपछि उनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो। 

आयोगले श्रेष्ठ २०४८ असार २६ गते नियुक्ति भएको मितिदेखि २०८० फागुन १६ गतेसम्मको अवधिको सम्पूर्ण सम्पत्तिको अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा श्रेष्ठको कुल वैधानिक आय दुई करोड १६ लाख ८५ हजार ५५७ रुपैयाँ प्रमाणित भएको छ। तर उनको कुल प्रमाणित व्यय भने तीन करोड ६० लाख ४ हजार ४९५ रुपैयाँ देखिएको छ।

श्रेष्ठको कुल खर्च कुल आम्दानीभन्दा एक करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बढी देखिएको र उक्त रकमको स्रोत पुष्टि हुन नसकेको अख्तियारले जनाएको छ। 

अख्तियारले स्रोत पुष्टि हुन नसकेको उक्त रकमलाई बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगोबमोजिम जरिबानाका साथै गैरकानूनी सम्पत्ति जफत गर्नुपर्ने मागदाबी लिएको छ। श्रेष्ठले सम्पत्ति लुकाउनका लागि झुटो सम्पत्ति विवरण पेश गरेको भन्दै थप कैद र जरिबानाको माग पनि माग गरिएको छ।

अख्तियारले गैरकानूनी सम्पत्ति जफत गर्ने प्रयोजनका लागि श्रेष्ठकी पत्नी नरमाया श्रेष्ठ, बुहारी भावना वरुवाल र उनी सञ्चालक रहेको फरेस्ट एन्ड इन्भारोमेन्ट रिसर्च अर्गनाइजेसन प्रालिलाई समेत प्रतिवादी कायम गरेको छ।