रोल्वालिङ क्षेत्रमा हिमपहिरो, ३ जनाको मृत्यु

सम्पर्कविहीनहरूको खोजी र उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ पठाए पनि प्रतिकूल मौसमका कारण घटनास्थलमा पुग्न नसकेको प्रहरीले जनाएको छ।

दोलखा– हिमपहिरोमा परेर एक विदेशीसहित दुई नेपालीको मृत्यु भएको छ। गौरीशंकर गाउँपालिका–९ स्थित गौरीशंकर तथा रोल्वालिङ हिमशृंखलाअन्तर्गत आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शक रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै सोमबार बिहान हिमपहिरोमा परेका हुन्। 

आरोहणका लागि गएका १५ विदेशीसहित स्वदेशी पथप्रदर्शकको समूह सोमबार बिहान ९ः०० बजेतिर यलुङरी नजिकै हिमपहिरोमा परेको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए। उनीहरूको अवस्था अझै यकिन हुन सकेको छैन।

बिहानैदेखि उद्धारका लागि प्रशासनलाई आग्रह गरे पनि उद्धारमा ढिलाइ भएको वडाध्यक्ष निमगेली शेर्पाले बताए। हेलिकप्टर उडानका लागि रोल्वालिङ क्षेत्र प्रतिबन्धित भएकाले प्रशासनले अनुमतिमा ढिलाइ गर्दा थप समस्या भएको शेर्पाको भनाइ छ।

हिमपहिरोमा परेकाको खोजीको प्रयास भइरहेको प्रहरीले जनाएको छ। सम्पर्कविहीनहरूको खोजी र उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ पठाए पनि प्रतिकूल मौसमका कारण घटनास्थलमा पुग्न नसकेको प्रहरीले जनाएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ गइरहेको पनि प्रहरीले जानकारी दिएको छ।