झिलिमिली बत्तिको मूल्य १० प्रतिशतले वृद्धि, बजारमा अभाव

तिहारमा प्रयोग हुने झिलिमिली बत्तिको मूल्य बढेको छ। अमेरिकी डलरको मूल्यमा वृद्धि तथा राष्ट्र बैंकको नीतिको कारण बत्तिको मूल्य बढेर आएको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ।

काठमाडौँ- तिहारमा प्रयोग हुने झिलिमिली बत्तिको मूल्य गत वर्षभन्दा १० प्रतिशतसम्मले वृद्धि भएको छ। नेपाल विद्युतीय व्यवसायी महासंघले तिहारमा प्रयोग हुने झिलिमिली बत्तिको मूल्य गत वर्षको तुलनामा ८ देखि १० प्रतिशतले वृद्धि भएको बताएको हो। 



अमेरिकी डलरको मूल्यमा वृद्धि तथा राष्ट्र बैंकको नीतिको कारण बत्तिको मूल्य बढेर आएको महासंघले बताएको छ। तिहार नजिकिएसँगै बजारमा तिहारकेन्द्रित वस्तुको खरिदबिक्री बढ्न थालेको छ। फूल र झिलिमिली बत्तिको पर्वका रूपमा मनाइने तिहारका लागि बजारमा बत्ति, भाइमसला, फूलजस्ता वस्तुको बिक्री तथा खरिद शुरू भएको हो। 



अन्य सामानसँगै तिहारमा सबैभन्दा बढी बिक्री हुने झिलिमिली बत्तिको बिक्री पनि बजारमा शुरू भएको महासंघले जनाएको छ। महासंघका महासचिव कमल पोखरेलले बजारमा झिलिमिली बत्तिको माग बढे पनि आयातमा कमी आउने आकलन गरिएको बताए। उनले मूल्य पनि ८ देखि १० प्रतिशतसम्म बढेको बताए। 



नेपाली मुद्रासँगको तुलनामा अमेरिकी डलरको मूल्य बढेकाले मूल्यवृद्धि भएको व्यवसायी बताउँछन्। उनीहरूका अनुसार तातोपानी र रसुवागढी नाका सहजतापूर्वक सञ्चालन नहुँदा र प्रतीतपत्र (एलसी) खोल्ने समयमा शतप्रतिशत रकम राख्नुपर्ने व्यवस्थाले आयात कम भएको हो।



"राष्ट्र बैंकले लिएको मौद्रिक नीति र अमेरिकी डलरको तुलनामा नेपाली पैसाको तुलनामा गिरावट आएको कारण यो वर्षको तिहारमा विगतका वर्षको जस्तो झिलिमिली बत्तिको धेरै व्यापार हुने देखिएको छैन। चीनबाट लोड गर्ने बेलामा लकडाउन भएकाले कम आउने देखिन्छ," उनले भने।



पोखरेलका अनुसार गत वर्ष नेपालमा ४० करोड रुपैयाँको विद्युतीय झिलिमिली बत्ति आयात भएको थियो। यो वर्ष करिब ३० करोड रुपैयाँबराबरको आयात हुने अनुमान गरिएको उनले बताए। 



उनले कोभिडभन्दाअघि विसं. २०७६ मा तिहारका बेला नेपालमा करिब ६० देखि ७० करोड रुपैयाँबराबरको झिलिमिली बत्ति आयात हुने गरेकोमा कोभिडपछि २५ करोड बराबरको मात्रै झिलिमिली बत्ति आयात हुन थालेको बताए। 



विद्युतीय व्यापारीले ग्राहकको मागअनुसार बजारमा तिहारको लागि आवश्यक झिलिमिली बत्ति नभएको बताएका छन्। काठमाडौंका विद्युतीय व्यापारी मनराज खतिवडाले बत्तिको मूल्य बढेर आएको बताए । अर्का व्यापारी दुर्गा सापकोटाले महँगो भए पनि ग्राहकले खोजेको सामान नभएको बताए। 



नेपालमा सामान्य अवस्थामा विद्युतीय सामग्री तथा बत्ति वार्षिक १ अर्बभन्दा धेरैको आयात हुने गरेको छ। जसमध्ये आयात हुने झिलिमिली बत्तिको ८० प्रतिशत खपत तिहारको समयमा हुने महासंघले जनाएको छ। 



त्यस्तै, क्रिसमस, नयाँ वर्ष तथा विवाह भोजजस्ता कार्यक्रममा २० प्रतिशत आयातित बत्तिको खपत हुने गरेको महासंघका महासचिव पोखरेलले बताए। तिहारमा बजारमा सबैभन्दा धेरै एलइडी लाइट, एलइडी डिस्को लाइट, एलइडी फ्रेम लाइट, नेट झालर, दियो, स्ट्रप लाइट अत्यधिक बिक्री हुने गर्दछ।