लम्सुवाघाट पक्की पुल १५ वर्षदेखि अलपत्र

अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल १५ वर्षदेखि अलपत्र परेको छ। पुल बन्ने आशमा रहेका स्थानीय निराश छन्।

भोजपुर– भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल करिब ४ करोड खर्चिएपछि अलपत्र बनेको छ। २०६७ मा निर्माण थालिएको यो पुल १५ वर्षदेखि अधुरो बनेको हो। पुल बन्ने आशामा रहेका स्थानीय बासिन्दा निराश बनेका छन्।

भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार ६ वटा पिलरको आधार (बेस) राखेपछि पुल निर्माण अलपत्र रहेको हो। “लम्सुवाघाट पुल निर्माणको काम लामो समयबाट अलपत्र छ,” उनले भने, “स्थानीय १५ वर्षदेखि पुल बन्ने आशामा छौँ।”

यहाँ १७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो। निर्माणका क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्य गम्भीर नबनेको स्थानीय भक्तराज विश्वकर्माले बताए। पक्की पुल नहुँदा आवतजावतमा समस्या भइरहेको छ। “राज्यले यहाँ पुल निर्माणमा बेवास्ता गरेको छ,” उनले भने। 

२०६७ सालमा पुल बनाउन थालेको निर्माण कम्पनीले सम्झौताअनुसार २०७० सालमा सक्नुपर्ने थियो।