पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

पोखरा जोड्ने मुख्य सडकमा खाल्डाखुल्डीका कारण यात्रु र चालकलाई सास्ती भएको छ। यसले दुर्घटनाको जोखिमसमेत बढाएको छ।

गण्डकी– मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ। 

पोखरा जोड्ने मुख्य सडक बिग्रिँदा यात्रु र चालकलाई सास्ती भएको छ। कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको पोखरा–बागलुङ चल्ने विद्युतीय माइक्रोका चालक डम्मर केसीले बताए। 

“सहज र निर्बाध रूपले गाडी चलाउन सक्ने अवस्था अहिले छैन, ठाउँ–ठाउँमा सडक भत्केको छ, कतै सडक नै भासिएको छ, कहीँ ठूल्ठूला खाल्डा परेका छन्,” उनले भने, “सवारीसधानको बढी चाप हुने मुख्य सडक नै बिग्रिँदा दुर्घटनाको जोखिम पनि उत्तिकै छ।”

शीघ्र सडक मर्मत नगरे हिउँदमा धुलोको समस्या निम्तिने केसीले बताए। वर्षायाम सकिएलगत्तै सडक मर्मत गर्नुपर्नेमा अझै कामको सुरसार नदेखिएको उनको भनाइ छ। 

गत वर्षायाममा धेरै ठाउँमा सडक भत्केको र खाल्डाखुल्डी परेको सडक डिभिजन कार्यालय, पोखराका सबइन्जिनियर लोकेश पौडेलले बताए। “यसपालि धेरै ठाउँमा सडक बिग्रेको छ, नियमित मर्मतसम्भारका लागि ठेक्का प्रक्रिया पनि टुंगिइसकेको छ,” उनले भने, “कास्कीको फेदीदेखि नयाँपुल र नयाँपुलदेखि पर्वतको मालढुंगासम्म गरी दुई खण्डमा मर्मतसम्भारको काम हुन्छ।” शिवालय निर्माण सेवाले मर्मतको ठेक्का पाएको उनले बताए। 

निर्माण कम्पनीले दशैँ, तिहारअघि नै मर्मतसम्भार थाल्ने भनिए पनि वर्षात्, चाडबाडको बिदालगायत कारणले केही ढिलाइ भएको सबइन्जिनियर पौडेलले बताए। तत्काल मर्मतसम्भारको कामलाई गति दिनेगरी कार्यालयले आवश्यक पहल लिने उनको भनाइ छ। 

“मर्मतसम्भारका लागि बजेट कम हुने हुँदा सबै ठाउँको सडक बनाउन असम्भव देखिएको छ,” उनले भने, “बजेटले भ्याएसम्मको काम समयमै हुन्छ।”