बागी कि विध्वंशक!

र्‍यापरहरूलाई सामान्यतः बागी नै ठानिन्छ। अब बालेन शाह बागी नै हुन् त? सरकारको खरो आलोचकका रूपमा उनी बागी सुनिए पनि उनका कतिपय गुण बागीसँग मिल्दैनन्।

जुबिन गर्गको सिंगापुरमा निधनको खबर १९ सेप्टेम्बरमा फैलिएसँगै भारतको असम शोकमा डुब्यो। अफिसहरू बन्द भए। स्थानीयले सडकमै रुवाबासी गर्न थाले। सरकारले तीनदिने शोक घोषणा गर्‍यो। उनको शव सिंगापुरबाट आइपुग्दा लाखौँ मानिस सडकमा निस्किए। २३ सेप्टेम्बरको शवयात्रामा सहभागिता भारतमै रेकर्ड कायम गर्ने भनियो।

जुबिन गायक थिए, तर असमवासीका लागि गायक मात्रै थिएनन्। भगवानतुल्य पूजनीय हुनुमा उनका गीतसंगीतसँगै बागी तेवर पनि थियो। मानवीय भावनाले ओतप्रोत उनका परोपकारी काम थिए। न्याय र समानताका लागि जुरुक्क भइहाल्ने स्वभाव थियो। “म रेबेल (बागी) हुँ, म फाइटर हुँ,” तपाईंमा यति तितोपन किन छ भन्ने एउटा प्रश्नमा जुबिनको छोटो उत्तर थियो। (साहित्य आजतक, युट्युब)

कामाख्या मन्दिरमा बलिउड स्टार गोविन्दाले भैँसी बली चढाएकोमा ‘रगतले देउता खुशी हुने भए तिमी आफै किन बली नचढेको’ भन्ने जुबिन कडा नै सुनिन्थे।

सन् १९९० को दशकको शुरूतिर उनी असमको पहिलो रक एल्बम ‘अनामिका’ लिएर संगीतको दुनियाँमा प्रवेश गरेका थिए, त्यति बेला असममा छुट्टै देश माग गर्दै उल्फाले गरेको सशस्त्र विद्रोह ढलानउन्मुख थियो। युवाहरूमा निराशा चरममा थियो। बलिउड सिनेमामा समेत कालजयी गीत दिएका उनी आर्जनको महत्त्वपूर्ण हिस्सा सामाजिक काममा खर्चिन्थे। विपन्न १५ बालबालिकालाई ‘अडप्ट’ गरेका थिए। बाटोमा हिँड्दा श्रम गरिरहेकी बच्ची काजलीलाई देखेपछि अडप्ट गर्ने क्रममा उनले मुद्दामामिला नै  सामना गर्नपरेको थियो। (ध्रुव राठी, युट्युब)

भारतीय जनता पार्टीका लागि चुनावी गीत गाएकोबारे प्रश्नमा जुबिन यसअघि कांग्रेसका लागि पनि गीत गाइसकेको बताउँदै भन्छन्, “पैसाका लागि गीत गाइदिएको हुँ, पहिला सम्पर्क जसले गर्‍यो उसकै लागि गाइदिएँ।” पैसाको लागि गीत गाइदिएको बेधडक र ढोँगमुक्त भई किन भन्नसक्छन् भने, उनी आफू मात्रै नभई अरूलाई पनि ख्वाउन पर्ने भएकाले पैसा चाहियो भन्छन्।

ब्राह्मण परिवारमा जन्मिएका उनले हाइस्कुल पढ्दै जनै परित्याग गरेका थिए। जात व्यवस्थाका विरोधी रहे। चे ग्वेभारालाई आदर्श मान्ने उनी गान्धीवादी अहिंसक थिए। आफूले पाएको नेसनल अवार्ड सीमान्तकृत मानिने पूर्वोत्तर भारतीयमा समर्पित गर्दिए। “असमका सांसद/मन्त्री सबै भ्रष्ट छन्,” उनलेका भनेका थिए, “संस्कृति थाहै नभएकालाई संस्कृतिमन्त्री बनाउँछन्, शिक्षाबारे अनभिज्ञ शिक्षामन्त्री बन्छ।”

असममा बर्सेनि हुने सांस्कृतिक महोत्सव ‘बिहू फेस्टिभल’मा हिन्दी गीत निषेध गर्न सशस्त्र समूह उल्फाले आदेश गर्दा जुबीनले टेरेनन् नै, उल्टै आफैले हिन्दी गीत गाइदिए। सरकारले सुरक्षा दिन खोज्दा इन्कार गर्दै भने, “म पुलिस हैन नागरिकबाटै सुरक्षित हुन्छु।”

केन्द्र सरकारको नागरिकतासम्बन्धी कानून (एनआरसी) विरुद्ध उनी सडकमै आए। असममा एनआरसीको विरोध भनेको त्यहाँको कमजोर र अल्पसंख्यकको पक्षमा उभिनु हो।

र्‍यापरहरूलाई सामान्यतः बागी नै ठानिन्छ। अब बालेन शाह बागी नै हुन् त? सरकारको (खासगरी लामो समयदेखि सत्तामा ढलिमली गरिआएका कांग्रेस, एमाले र माओवादीको) खरो आलोचकका रूपमा उनी बागी सुनिए पनि उनका कतिपय गुण बागीसँग मिल्दैनन्।

‘गरिबको चमेली बोल्दिने कोही छैन’ गाएर फुटेज खाएका बालेन मेयर भएपछि काठमाडौँका गरिबको बिचल्ली शुरू हुन्छ। सडक र फुटपाथ व्यापारीको त्राहिमाम हुन्छ। शहरलाई सफा/व्यवस्थित राख्न सडक/फुटपाथ व्यवसायीलाई व्यवस्थित गर्नपर्ने हुन्छ। तर चुनावअघि वैकल्पिक बन्दोबस्त नगरी तिनीहरूमाथि बल प्रयोग अनुचित भन्ने उनी मेयर भएपछि विकल्प नसोची क्रूरताको हदमा ओर्लिन्छन्।

हुँदाहुँदा गंगालाल अस्पतालको गेटमा थर्मसमा चिया बेच्नेउपर अमानवीय दमनको भिडियो सार्वजनिक हुन्छ। समाजको उपल्लो तहको ताली र भुईं मान्छेको गाली खाने मान्छे बागी कहलिन सक्तैन। बालेन शाहले त्यही सम्पन्न खुशी पार्ने जुक्ति निकाले। अल्पसंख्यकलाई बालै दिएनन्। संघीयता खारेजी पनि वर्चश्वशाली वर्गलाई रिझाउने ‘पपुलिस्ट’ कदम नै हो। संघीयता प्राप्त गर्न सिमान्तकृतहरूले गरेको आन्दोलन र बलिदानको उपेक्षा पनि हो।

“बागीहरू सामान्यतः सत्ताउन्मुख हुँदैनन्,” विश्लेषक सिके लाल भन्छन्, “सत्ता पुग्ने सर्टकर्ट बाटो खोज्नेहरू बागी कहलाउन योग्य हुँदैनन्।”   

सन् २०१४ मा नरेन्द्र मोदीको शासनसँगै भारतमा धार्मिक असहिष्णुता बढ्न थालेपछि अनुराग कश्यप, अनुभव सिन्हा आदि सामाजिक सञ्जालमा खुलेरै आए। जबकि, बहुसंख्यक बलिउड सेलेब्रिटीले मोदीको पाउमा पगरी चढाइदिए। संगठित ‘आईटी सेल’ सहित सामाजिक सञ्जाललाई कब्जा गरेको सत्ताविरुद्ध लड्न सजिलो थिएन, छैन। सरकारको विरोधमा चुइँक्क गर्दा पनि देशव्यापी बहिष्कार प्रयत्न गर्थे। तैपनि कश्यप, सिन्हाले सञ्जालमै भिड्ने समय निकाले।

“म बनारसको मान्छे, तिमीहरूले गालीमा त मसँग सक्तैसक्तैनौ, बरु तिमीहरू मसँग कोचिङ लिन सक्छौ,” सामाजिक सञ्जालको पोस्टमा गाली गर्न आउनेहरूलाई उनले रमाइलोसँग भनेका थिए, “म छोटो समयको क्र्यास कोर्षदेखि लामो कोर्ष पढाउन सक्छु।” सिन्हाले ‘आर्टिकल १५’मा दलित उत्पीडन, ‘थप्पड’मा महिला हिंसा र ‘भीड’मा लकडाउनपछि अलपत्र मजदुरको कथा भनेका छन्।

कश्यपको ‘पाँच’ रिलिज नै भएन, उनले सेन्सर बोर्डसँग सम्झौता गर्न चाहेनन्। ठूला सिनेघरानासँग भिड्न आनाकानी गरेनन्। “सन्देश दिनु मेरो काम होइन, म प्रश्न गर्छु, र दर्शकलाई चिमोट्न खोज्छु,” कश्यप एउटा अन्तर्वार्तामा भन्छन्, “मेरो सिनेमा हेरेर कसैले ठिकै लाग्यो भन्छ भने मेरा असफलता हो, बरु बेस्सरी नराम्रो भनोस्, विचलित होस्, त्यो मेरो सफलता हो।”

साढे तीन वर्षअघि बालेनलाई जिताउन खुलेरै आएका निर्देशक निश्चल बस्नेत यसपालि भदौ २४ गते संसद् भवन जलिरहँदा उत्सवमा देखिए। विमलेन्द्र निधिको जलाइएको घर नियालिरहेका दीपक गिरीको फोटो भाइरल भयो। संसद् भवन जल्न शुरू हुँदा उनीचाहिँ सुरक्षित रहेको पोष्टहरू देखिए। निश्चल र दीपक बागी हुन् कि अरू केही?

पालैपाले सत्तामा ढलिमली गरिआए पनि हरेकचोटि भ्रष्टाचार, कुशासनको मानक खडा गरिरहेका कांग्रेस, एमाले र माओवादी (त्यसको पनि शीर्ष नेतृत्व) प्रति निश्चलको आक्रोश देखिन्छ, त्यसैले बालेनलाई जिताउने अभियानमा शुरूदेखि सक्रिय रहे। अहिले पनि सामाजिक सञ्जालमा भ्युज/लाइक्स बटुल्न सफल राजनीतिक महत्त्वकांक्षा बोकेकाहरूलाई एकै ठाउँमा ल्याई पार्टी बनाउने प्रयत्नमा लागेकै छन्। यद्यपि, उनी पनि बागीको परिभाषामा अट्ने पात्र होइनन्। उनीसँग तीन ठूला दलप्रति आक्रोश मात्रै छ। सामाजिक न्याय, समानता आदिमा उनको खरोपना देख्न पाइएको छैन।

फेरि बागीले प्रश्न गर्न छाड्दैन। निश्चलले मेयर भएपछि बालेनलाई नै प्रश्न गर्न पछि पर्न हुँदैनथ्यो। फोहर व्यवस्थापनसहितका काठमाडौँका समस्या चुट्कीकै भरमा समाधान हुनेजसरी अन्तर्वार्ता दिने मान्छे मेयर भएको साढे तीन वर्षमा फोहर विसर्जन विद्यासुन्दर शाक्यले छाड्दाताका जुन अवस्थामा थियो (ल्याण्डफिल साइटका बासिन्दाले अवरोध नगरेसम्म विसर्जन हुने) त्यही अवस्थामा छँदा किन प्रश्न गर्न सक्तैनन्? अझ, अखण्ड कीर्तन–भजनमै लिन छन्।

कम्युनिस्ट पार्टीका लागि सांस्कृतिक कार्यक्रममा निकै समय खर्चेका पियूष मिश्र अहिले कट्टर कम्युनिस्ट विरोधी सुनिन्छन्। “कम्युनिष्टहरूले मेरो २० वर्ष बर्बाद् गरिदिए,” उनी भन्छन्, “बाउ, आमा, परिवार सबै गन्धा चीज हुन्, जे गर्नपर्छ समाजका लागि भनेर मलाई बरालिदिए।”

उनी यतिमै सीमित छैनन्। उनको असन्तुष्टि अझ व्यापक छ। “पैसा कमाउनु पाप हो भने। म खराब छोरा भएँ, खराब श्रीमान् भएँ,” उनी थप्छन्, “छोरा सानै थियो, खराब बाउचाहिँ बन्दिनँ भनेर सबै छोडछाड गरिदिएँ।”

अब त निर्देशक पनि बनिसकेका लेखक, स्टाण्डअप कमेडियन बरुण ग्रोवर मोदी सत्ताप्रति आलोचक त छन् नै, आलोचना गर्न डराउनेहरूप्रति पनि आलोचक सुनिन्छन्। “जब कोही बच्दैनन्, लेख्नेवाला बच्नेछन्, सत्ताको आँखामा आँखा जुधाएर लेख्नेवाला बच्नेछन्, बरुण ग्रोवर बच्नेछ,” उनी भन्छन्।

“बागी सधैँ कमजोरको पक्षमा उभिन्छ, बलियाको पक्षमा उभिने बागी हुँदैन,” विश्लेष सिके लाल भन्छन्, “राजनीतिक व्यवस्थाविरुद्ध हुने कुरा मात्र हुँदैन, राजनीतिक, सांस्कृतिक, सामाजिक सबैखाले सत्ताविरुद्ध उभिन्छ।”

बास्तबिकता लाग्यो सुजित

बिष्णु भारद्वाज

1 week, 6 days ago

सान्दर्भिक

Bikram Neupane

2 weeks ago