कांग्रेस केन्द्रीय समिति बैठकमा महाधिवेशनका लागि २ फरक प्रस्ताव पेश

कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले महाधिवेशनका लागि दुई फरक प्रस्ताव पेश गरेका छन्।

ललितपुर– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महाधिवेशनका दुई फरक प्रस्ताव पेश भएका छन्। महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेश भएका हुन्। 

सहमहामन्त्री बद्री पाण्डेका अनुसार पुस १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने महामन्त्री गगन थापाको प्रस्ताव आएको छ। वैशाख २७ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्न सहमहामन्त्री महेन्द्र यादवले अर्को प्रस्ताव पेश गरेका छन्।

“महाधिवेशनका विषयमा पार्टीमा दुई खालका मतलाई एउटै हुने गरी साझा धारणा हुन सकेको छैन,” उनले भने, “एउटै बनाउने प्रयास जारी छ, पुस १६ मा हुने भयो भने तीव्र तयारी आवश्यक छ।”

बैठकमा महामन्त्री थापाले मंसिर २७ गते वडा अधिवेशन, पुस ५ र ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र पुस १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका पेश गरेका हुन्।

यस्तै, सहमहामन्त्री यादवले पेश गरेको कार्यतालिकामा चैत १ गते वडा अधिवेशन, चैत ५ गते पालिका अधिवेशन, चैत १२ गते प्रदेश क्षेत्रीय अधिवेशन, चैत २० गते संघीय प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, चैत ३० गते जिल्ला अधिवेशन, २०८३ वैशाख १५ गते सात प्रदेश अधिवेशन र २०८३ वैशाख २७ देखि ३० गतेसम्म १५औँ केन्द्रीय महाधिवेशनको प्रस्ताव गरिएको छ।

सहमहामन्त्री पाण्डेले विशेष महाधिवेशन पक्षधरहरूको मागलाई सम्बोधन गर्न पनि पुसमा महाधिवेशन आवश्यक छ भन्दै नियमित महाधिवेशनमा जोड दिइरहेको धारणा राखे।

अर्का सहमहामन्त्री किशोरसिंह राठौरले देशका सबै निकाय जलेको बेलामा कांग्रेस एक ढिक्का भएर अगाडि बढ्छ भन्ने धारणा राखे। उनले आफूलाई निर्वाचन पछाडि महाधिवेशन गर्ने कार्यतालिका नै पारित हुन्छ भन्ने विश्वास रहेको बताए।

केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीले सबै विचारलाई सम्बोधन गर्दै देशको नेतृत्व गरेर सबै पार्टीलाई विश्वस्त हुनसक्ने वातावरण तयार पार्नुपर्ने बताए। उनले विधानअनुसार विशेष महाधिवेशन पनि वैधानिक हो भन्दै विधानले व्यवस्था गरेअनुसार लोकतान्त्रिक पद्धति स्वीकार गर्दै पार्टी अगाडि बढ्छ भन्ने धारणा राखे।