मुस्ताङको ‘छुआमा’ हिमालको पहिलो सफल आरोहण

माथिल्लो मुस्ताङस्थित ६ हजार २१३ मिटर उचाइको 'छुआमा' हिमालको पहिलो सफल आरोहण भएको छ।

मुस्ताङ– माथिल्लो मुस्ताङस्थित ६ हजार २१३ मिटर उचाइको 'छुआमा' हिमालको पहिलो सफल आरोहण भएको छ। 

दक्षिण कोरियाली तीन पर्यटकसहित आठ जनाको आरोहण टोलीले नोभेम्बर २ मा सफलतापूर्वक आरोहण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङले जनाएको छ। 

छुआमा हिमालका तीन शिखरमध्ये छुआमा तेस्रो शिखरको यो पहिलो आरोहण हो।

दक्षिण कोरियाली पर्यटक डोङजिन, नाम्योङ र ह्निचुलसँगै पाँच जना नेपाली गाइडहरूले आधार शिविर हुँदै सफल आरोहण गरेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए।

यो हिमाल लोमान्थाङ गाउँपालिका–४, नाम्डो गाउँबाट माथिको ५,४८० मिटर उचाइको आधार शिविर हुँदै चढ्नुपर्ने हुन्छ।

नोभेम्बर २ को बिहान २ बजे आधार शिविरबाट प्रस्थान गरेको टोली १० घण्टापछि शिखरमा पुगेको थियो। सफल आरोहणपछि लोमान्थाङ फर्किएको टोलीलाई एक्याप लोमान्थाङले खादा लगाएर सम्मान गरेको छ।

यसअघि 'छुआमा' हिमाल पर्वतारोहणका लागि अक्टोबर १८ मा ट्रेकिङ क्याम्प नेपालको टोलीले स्थलगत निरीक्षण गरेको थियो।

एक्याप प्रमुख पौडेलले यो आरोहणसँगै माथिल्लो मुस्ताङको पर्यटन र हिमाल पर्वतारोहण प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।