देशभर बढे आगलागीका घटना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक १७ देखि १८ गते बिहानसम्म देशभर नौ वटा आगलागीका घटना भएका छन्।

देशभर बढे आगलागीका घटना
प्रतिकात्मक तस्वीर

काठमाडौँ– सावधानी र जनचेतनाको अभावमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक १७ देखि १८ गते बिहानसम्म देशभर नौ वटा आगलागीका घटना भएका छन्।

प्राधिकरणका अनुसार झापा, मोरङ, महोत्तरी, सर्लाही, रौतहट, बारा, गोरखा, पर्वत र कैलालीमा आगलागीका घटना भएका छन्। देशभर कुल १८ वटा विपद्का घटना भएका छन्। ती घटनामा परेर तीन जनाको ज्यान गएको छ। आठ जना घाइते भएका छन्। प्राधिकरणका अनुसार ११ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

यस्तै, रसुवामा हावाहुरीका कारण क्षति पुगेको छ। गोसाइँकुण्ड गापा–४ लाङटाङस्थित हावाहुरी र माथिबाट खसेको हिमपहिरोका कारण स्थानीय होटलमा क्षति पुगेको छ। भोजपुर, खोटाङ र ललितपुरमा पहिरोका घटना भएका छन्।

दोलखाको गौरीशंकर गापा–९ स्थित येलुङ रि हिमाल आरोहणका लागि गएका नेपाली पथप्रदर्शक तथा विदेशी नागरिक समेत गरी १२ जना गएकामा हिमाल आरोहण गर्ने क्रममा हिउँ पहिरोमा परी चार जना विदेशी नागरिक बेपत्ता भएका छन्। दुई नेपाली र एक विदेशी गरी तीन जनाको मृत्यु र पाँच नेपाली घाइते भएका छन्।

गोरखाको चुननुब्रीमा हिमपातका कारण प्रभावित भएकालाई उद्धार गरिएको छ। सिरहा, तनहुँ र कैलालीमा भने सर्पदंशका कारण तीन जना घाइते भई उपचारका क्रममा छन्।