भारतमा रेल दुर्घटना, ११ जनाको मृत्यु

भारतमा रेल मार्गमार्फत दैनिक करिब एक करोड २० लाखभन्दा बढी यात्रु ६४ हजार किलोमिटर लामो ट्र्याक सञ्जालमा यात्रा गर्छन्।

भारतमा यात्रुबाहक रेल मालवाहक कार्गो रेलसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। 

दुर्घटनामा करिब २० जना यात्रु घाइते भएका छन्। सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

दुर्घटना छत्तीसगढ राज्यको राजधानी रायपुरबाट करिब ११५ किलोमिटर उत्तरपूर्वमा अवस्थित बिलासपुर नजिक भएको हो। 

वरिष्ठ सरकारी अधिकारी सञ्जय अग्रवालका अनुसार मंगलबार राति यात्रु रेलले कार्गो रेललाई पछाडिबाट ठक्कर दिएको थियो। 

बुधबार बिहान उद्धार कार्य सकिएको र दुर्घटनास्थल हुँदै रेल आवागमन पुनः शुरू गरिएको उनले बताए। 

भारतीय रेल प्रशासनले एक विज्ञप्ति जारी गर्दै घटनाको कारणबारे विस्तृत अनुसन्धान शुरू भएको जनाएको छ। साथै, मृतक र घाइतेका परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

भारतमा रेल मार्गमार्फत दैनिक करिब एक करोड २० लाखभन्दा बढी यात्रु ६४ हजार किलोमिटर लामो ट्र्याक सञ्जालमा यात्रा गर्छन्। 

रेल सुरक्षा सुधारका लागि सरकारको निरन्तर प्रयास भइरहे पनि प्रत्येक वर्ष सयौँ दुर्घटना हुने गरेका छन्। मानवीय त्रुटि वा पुरानो संकेत प्रणालीलाई दुर्घटनाको मुख्य कारणका रूपमा लिइन्छ।

सन् २०२३ मा भारतको पूर्वीभागमा भएको रेल दुर्घटनामा २८० भन्दा बढी यात्रुको मृत्यु भएको थियो। यो देशको इतिहासमै सबैभन्दा भयावह रेल दुर्घटनामध्ये एक मानिन्छ। (रासस/एपी)