रामकुमारी झाँक्रीलाई प्रश्न– अब एमालेमै फर्कनु हुन्छ?

‘हामी एमालेको ब्याडको बेर्ना हौँ। एमालेसँग निरन्तर संवाद भइरहेको छ। त्यही भएर अन्य साथीहरुलाई केही समय पर्खन भनिरहेका छौँ।’

चार वर्षअघि एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवार्दी गठन गर्दा रामकुमारी झाँक्री सबैभन्दा चर्चामा थिइन्। नयाँ पार्टी दर्ता गर्न नेपाललाई डोर्याउँदै निर्वाचन आयोग पुगेको उनको तस्वीर झन् बढी चर्चामा रह्यो। त्यही पार्टी बुधबारदेखि छिन्नभिन्न भएको छ। अध्यक्ष नेपालसहितका केही नेता माओवादी केन्द्रसहितका वाम घटकसँग एकता प्रक्रियामा सहभागी भएपछि महासचिव घनश्याम भुसालसहितका नेताले पार्टीलाई पुनर्गठन गरेर जाने बताएका छन् भने झाँक्री नेतृत्वको अर्को समूह एमालेमै फर्कन खोजेको चर्चा छ। झाँक्रीसहितका केही नेताले बुधबार नै पत्रकार सम्मेलन गरेर एकीकृत समाजवादी विर्सजन भएको बताएका छन्। यही सेरोफेरोमा बुधबार झाँक्रीसँग उकालोका लागि बीपी अनमोलले गरेको गरेको कुराकानी: 

बलियो पार्टी बनाउने भनेर एमालेबाट विद्रोह गर्नुभयो, चार वर्षमै नयाँ पार्टी बिसर्जन भयो। यस्तो अवस्था कसरी आयो? 
एमालेबाट विद्रोह गरेलगत्तै हामीले विद्रोहको औचित्य साबित भयो भन्ने सोचेका थियौँ। यस्तो रक्षात्मक अवस्थामा पुगिएला भन्ने सोचेका थिएनौँ। हामीले नयाँ पार्टी दर्ता गर्यौँ, सानो घर त बनायौँ, तर त्यो घरभित्र लोकतान्त्रिक व्यवस्थालाई अपनाएनौँ। पार्टी बिस्तार नै भएन। पार्टी बनाउँदाखेरिको सांसद सिट संख्या केवल सरकार बनाउने खेलमा लगाइयो। संगठन बनाउनेतर्फ नेतृत्वको ध्यान गएन। युवा विद्यार्थीदेखि जनवर्गीय संगठन, प्रदेश, जिल्ला तहसम्म चरम गुटबन्दी मौलाउँदै गयो। 

पार्टीमा देखापरेको समस्यालाई लोकतान्त्रिक विधिबाट हल गर्न नेतृत्वले चासो देखाएन। विचारधारा, पद्धति कमजोर हुँदैगए। आफ्नो पार्टी बलियो बनाउनुसाटो गठबन्धनमा मात्र निर्भर रहने अवस्था बन्यो। नेतृत्वको कार्यशैली अलोकतान्त्रिक हुँदै गयो। खासमा पार्टी नै नबनाएकाले स्थानीय तह निर्वाचनमै उम्मेदवार उठाउन नसक्ने अवस्था बन्यो। संगठन नभएपछि चुनाव हार्नकै लागि को उम्मेदवार बन्थ्यो? कोही उम्मेदवार बन्नै तयार नहुने अवस्था देखियो। प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धनमा मात्र भर परियो। चुनाव प्रचारमा केन्द्रीय कमिटी, स्थायी कमिटी र पदाधिकारी नै खटिएनन्। परिणाम, समानुपातिकतर्फ राम्रो मत आएन। गोप्य रुपमा समानुपातिक उम्मेदवारको लिष्ट बनाएर निर्वाचन आयोगमा बुझाइएको कुरा त आयोगले विवरण सार्वजनिक गरेपछि मात्र थाहा भयो। 

पछिल्लो समय पार्टी अध्यक्षमाथि भ्रष्टाचार मुद्दा नै लागेपछि नेतृत्वले नैतिकता देखाउन सक्नुपथ्र्यो, तर त्यसो भएन। कमिटीमा केही नेताले यो विषय उठाए पनि नजरअन्दाज गरियो। संगठन बिस्तार हुन नसक्नु, नेतृत्वमाथि मुद्दा लाग्नु र यस्तै यस्तै कुराले विकल्प केही नदेखेपछि एकाएक अन्य पार्टीसँग एकीकरण गर्ने अवस्थामा नेतृत्व पुगेको हुनुपर्छ। नेतृत्वका चुनौती थिए होलान्, एकताको प्रक्रियामा जानेहरु जानुभयो। नजानेले म जान्न भन्न पाउँछ। समग्रमा भन्दा नेतृत्वको अलोकतान्त्रिक कार्यशैली, पार्टीभित्रको चरम गुटबन्दी, अति महत्वाकांक्षाले यो अवस्था आयो।

हिजो एमालेमा जे समस्या भन्नुहुन्थ्यो, यहाँ पनि त्यही देखियो? 
एमालेमा विद्रोह गर्दा एउटै प्रश्न थियो– संसद विघटनको। त्यसको पृष्ठभूमिमा एमाले र माओवादीबीचको एकतापछि संकुचनमा परेको लोकतन्त्र थियो। त्यसबाट पार्टी नै विघटन हुने अवस्था बनेको बेला प्रधानमन्त्री (पार्टी अध्यक्ष) ले संसदन विघटन गरेपछि हामी त्यसविरुद्ध उभियौँ। त्यो मुद्दाबाटै पार्टी विभाजनसम्मको अवस्था निर्माण भएको हो। 

नयाँ पार्टी बनाएर जाने विषयमा तत्कालीन नेतृत्व (माधव नेपाल) बाट पनि म्यानुपुलेसन गर्ने काम भयो। तिमीहरु किन म्यानुपुलेट भयौ भन्ने प्रश्न पनि आउला। कहिलेकाहीँ कुनै निर्णय भइसकेपछि पछि फर्किन नसकिने रहेछ। चन्द्रागिरीमा विधान निर्माण लगायतका काम गर्दा नै मैले यो हिसाबले पार्टी बन्दैन भनेको थिएँ। तर माधव नेपालले लोकतान्त्रिक पार्टी बनाउनुहुन्छ भनेर होइन, मुद्दा एकै भएपछि सहकार्य भएको थियो। उहाँले १५ वर्ष एमालेको नेतृत्व गर्दा उहाँको शासनकाल भोगेकै हो। २०५१ बामदेवलाई उपमहासचिव बनाउँदा र २०५४ मा एमाले विभाजन हुँदा उहाँ नै नेतृत्वमा हुनुहुन्थ्यो। उहाँको कार्यशैलीलगायत पार्टीभित्र जे जस्ता अवस्था देखापरे, पार्टी विघटन हुनु त अवश्यंभावी नै थियो। 

तपाईंहरु अब के गर्नुहुन्छ? एमालेमै फर्कने कुरा साँचो हो? 
एकीकृत समाजवादीको नेतृत्वसहितको एउटा पंक्ति अब माओवादी केन्द्रसहितका दलहरुसँगको एकता प्रक्रियामा सहभागी भएपनि त्यसमा सहभागी नहुने पंक्ति ठूलो छ। बहुमत केन्द्रीय सदस्यहरु एकता प्रक्रियामा सहभागी नहुने देखिएपछि केन्द्रीय कमिटीमा बहुमत देखाउन ८८ जना र समाहित हुन थप १५० जना मनोनित गर्ने काम भयो। कोही अब यो पार्टी पुनर्गठन गर्ने भनिरहनुभएको छ, कोही एकता गरेर एमालेमै फर्किने हो भनिरहनुभएको छ। हामी छलफलमै छौँ। एमाले नेतृत्वसँग पनि हाम्रो संवाद भइरहेको छ। हावामा पार्टी बनाएर हुँदैन, सबै कुरा हेरेर अघि बढ्ने हो। निर्वाचन आयोगमा सयौँ पार्टी छन्, त्यहाँ दर्ता गरेर मात्र पार्टी निर्माण हुँदैन। दोकान अर्को खोल्ने भन्दा पनि भएको दोकान राम्रोसँग चलाउनुपर्छ भन्ने हाम्रो धारणा हो। त्यसैले एमालेसँग निरन्तर संवाद भइरहेको छ। त्यही भएर अन्य साथीहरुलाई केही समय पर्खिन भनिरहेका छौं।

तपाईंहरुलाई सहज त एमालेमै फर्किन होला नि? 
हाम्रो स्कुल अफ थट, पार्टीको कार्यनीति, संघर्षको स्वरुप सबै एउटै हो। हिजो हामीले नै बनाएको पार्टी हो। हामी एमालेको ब्याडको बेर्ना हौँ नि। त्यही भएर सहज त एमालेमै फर्किनु हो। हामी अब जुन आन्दोलनमा आफुलाई समाहित गर्छौं, त्यसलाई बलियो बनाउनेतर्फ नै लाग्ने हो। कमजोर बनाएर हिँड्ने होइन।

पार्टीहरु, त्यसमा पनि कम्युनिष्ट भन्नेहरुमा निरन्तर टुटफुटको श्रृखंला देखिन्छ। नेतृत्व मात्रै यसको कारक हो त? 
नेतृत्व मात्र होइन, यसमा हाम्रा पनि कमीकमजोरी छन्। कमिटीभित्र निर्णयसर्वसम्मत र बहुमतका आधारमा हुन्छ। बहुमतले गरेको निर्णय स्वीकारेर जानुपर्छ। सँगै आफ्ना विषय पनि राख्दै जाने प्रणाली विकास हुनुपर्छ। अहिले चाहिँ जतिबेला अल्पमतमा पर्यो त्यतिबेला घर छोडेर हिँड्ने अवस्था बनिरहेको छ। अनि पार्टी नै चलाउन नसक्ने अवस्था देखापर्दा एकताको विषय उठाउने काम भइरहेको छ। विधिसम्मत पार्टी नचलाउने, चरम गुटबन्दी गर्ने लगायतका अलोकतान्त्रिक कामले नै पार्टीमा टुटफुट भइरहेको हो। छलफलको प्रक्रिया लोकतान्त्रिक र गरिएका निर्णय अक्षरंश पालना भएको भए समस्या आउने थिएन नि। दलहरुका सिद्धान्तमा समस्या होइन, व्यवहारमा समस्या देखिएको हो। 

केही समयअघि जेन–जी पुस्ताले विद्रोह गर्यो। त्यो विद्रोहको मूल कारण यही राजनीतिक नेतृत्व हो भन्दा फरक पर्छ?
पर्दैन। हाम्रो कमजोरी नभएको भए त यस्तो परिस्थिति नै आउने थिएन नि। समाजलाई हामीले जस्तो बनायौँ, अहिले त्यसकै प्रभाव देखापरेको हो। 

जेन–जी विद्रोहपछि दलहरुभित्र नेतृत्व परिवर्तनदेखि पुस्तान्तरणको विषय उठेको छ। दलहरु त्यसो गर्न तयार होलान्?
जेन–जी विद्रोह सही थियो, त्यसले उठाएको विषय भ्रष्टाचार नियन्त्रण र सुशासनको थियो। सरकारसँगै जवाफदेहिता खोजिएको थियो। भ्रष्टाचारमा मुछिएकालाई कारबाही र अहिलेसम्म नेतृत्वमा रहेकाहरुलाई सम्मानपूर्वक विदाइ हुनुपर्ने माग त्यसमा थियो। विद्रोहका क्रममा २३ र २४ गतेका सन्दर्भ भने फरक–फरक छन्। र पनि, विकल्प भनेको दलले नै दिने हो। दलमात्र होइन, राज्यका संयन्त्र, अंगहरु सबै पुनसंरचना हुन आवश्यक छ। यो विद्रोहले सबै क्षेत्र सुधार हुनैपर्ने आवश्यकता देखाएको छ। त्यसकारण दल मात्रै सच्चिएर हुँदैन, दलको पुनःसरचना गरेर जानुपर्छ। यसको विकल्प छैन।