ओदाल खोलाको पुलको लम्बाइ ४० मिटर र मुसेपानी खोलाको पुलको लम्बाइ १६० मिटर रहेको छ। दुवै पुल आधुनिक प्री–स्ट्रेस्ड प्रविधिमा निर्माण गरिएका छन्।
कञ्चनपुर – जिल्लाका दुई बहुप्रतिक्षित पक्की पुल लामो ढिलासुस्तीपछि बल्ल सम्पन्न हुने चरणमा पुगेका छन्। तीन वर्षको लक्ष्य राखिएका यी पुलहरू निर्माण शुरू भएको नौ वर्षपछि अन्तिम चरणमा पुगेका हुन्।
कृष्णपुर नगरपालिका–१ को बंक–बुडर–नायल सडकखण्डमा पर्ने ओदाल खोला पुल र बेदकोट नगरपालिका–६ र ७ लाई जोड्ने मुसेपानी खोलाको पुल निर्माण हाल अन्तिम चरणमा पुगेको छ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार मुसेपानी खोला पुल निर्माणका लागि २०७४ जेठ १० गते १५ करोड ४३ लाख रुपैयाँको लागतमा तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो।
त्यसैगरी, ओदाल खोला पुल निर्माणका लागि २०७३ भदौ १७ गते पाँच करोड ४७ लाख रुपैयाँमा दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो। तर, समयमै काम सम्पन्न गर्न नसकेपछि दुवै पुलको म्याद पटक–पटक थपिँदै आएको छ।
ओदाल खोलाको पुल तोकिएको समयमा सम्पन्न हुन नसकेकाले ठेकेदार कम्पनीमाथि १० प्रतिशत जरिबाना लगाइएको सूचना अधिकारी जोशीले जानकारी दिए। मुसेपानी खोलाको पुलको अन्तिम म्याद भने अहिले २०८२ कात्तिक मसान्तसम्म तोकिएको छ।
हालसम्म मुसेपानी खोलाको पुलको भौतिक प्रगति ९५ प्रतिशत र ओदाल खोलाको पुलको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ। “दुवै पुलको सब–स्ट्रक्चर, सुपरस्ट्रक्चर र तटबन्ध निर्माण पूरा भइसकेको छ,” उनले भने, “हाल पहुँच मार्ग निर्माण मात्र पूरा हुन बाँकी रहेको छ।”
ओदाल खोलाको पुलको लम्बाइ ४० मिटर र मुसेपानी खोलाको पुलको लम्बाइ १६० मिटर रहेको छ। दुवै पुल आधुनिक प्री–स्ट्रेस्ड प्रविधिमा निर्माण गरिएका छन्।
आर्थिक विवरणअनुसार ओदाल खोलाको पुलमा हालसम्म चार करोड ५२ लाख रुपैयाँ भुक्तानी भइसकेको छ, जसमा १० प्रतिशत जरिबाना असुल गरिएको छ। मुसेपानी खोलाको पुलको वित्तीय प्रगति १३ करोड ३० लाख रुपैयाँ पुगेको छ। ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण दुवै पुल तोकिएको अवधिभित्र सम्पन्न हुन नसके पनि अहिले तीव्र गतिमा काम भइरहेको जनाइएको छ।
पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय बासिन्दाले लामो समयदेखि ठूलो सास्ती खेप्नुपर्यो। विशेषगरी बर्खाको समयमा खोला तर्ने जोखिम बढ्ने र आवतजावतमा कठिनाइ हुने समस्याले जनजीवन प्रभावित हुँदै आएको थियो।
कृष्णपुर नगरपालिका-१ का स्थानीय बासिन्दा गयाप्रसाद चौधरीले भने, “वर्षौंदेखि खोला तर्नुपर्ने अवस्था थियो। वर्षातका बेला गाउँसम्म एम्बुलेन्स आउन नसक्दा बिरामीलाई जोखिम मोलेर पिठ्युँमा बोकी खोला तार्नुपर्थ्यो। ढिलै भए पनि स्थायी पुल बनेपछि अब सहज हुने भयो।”
दुवै पुल सञ्चालनमा आएपछि स्थानीय यातायात, व्यापार र कृषि उत्पादनको ढुवानीमा ठूलो सहजता आउने अपेक्षा गरिएको छ। योसँगै बंक–बुडर–नायल सडकखण्ड तथा बेदकोटको मुसेपानी क्षेत्रका बासिन्दा लामो समयदेखि नदी तर्नुपरिरहेको समस्या समाधान हुनेमा आशावादी देखिएका छन्।
सडक डिभिजन कार्यालयले बाँकी रहेका पहुँच मार्ग तथा फिनिसिङ कार्य छिटो सम्पन्न गरी दुवै पुललाई चालु आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
