११ अंकले घट्यो नेप्से, कारोबार रकम भने ५ अर्ब नाघ्यो

बिहीबार नेप्से परिसूचक ११.२९ अंकले घटेर २५९६.१२ को विन्दुमा बन्द भएको छ।

काठमाडौँ– साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११.२९ अंकले घटेर २५९६.१२ विन्दुमा बन्द भएको छ। यसअघि बुधबार दोहोरो अंकले बढेर २६०७.४२ विन्दुमा अटिएको नेप्से बिहीबार ओरालो लागेको हो।

बुधबार चार अर्ब ६८ करोड १९ लाख रुपैयाँ बराबरको ९२ लाख १८ हजार कित्ता शेयर किनबेच भएको बजारमा बिहीबार ३२० कम्पनीको पाँच अर्ब ४१ करोड ६९ लाख रुपैयाँ बराबरको एक करोड ८ लाख ६८ हजार १४६ कित्ता शेयर कारोबार भएको छ।

सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः २.०८, ०.८१ र ०.७६ अंकले घटेका छन्। सूचक घटे पनि कारोबार रकम भने बढेको छ। 

बिहीबार कारोबारमा आएका कुल १३ समूहमध्ये यस दिन तीनको उपसूचक बढेको छ भने ११ समूहको उपसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। घटेका समूहहरूको गिरावट दर पनि १ प्रतिशतभन्दा कम रह्यो।

कारोबारको पहिलो दिनमा दरमखोला इनर्जीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर अन्तिम कारोबार प्रतिकित्ता ४४२.४० रुपैयाँमा भयो। माबिलुङ इनर्जीको शेयर मूल्य पनि सकारात्मक सर्किट लेभलमा कारोबार भई प्रतिकित्ता ४२२.७० रुपैयाँमा बन्द भयो। यसैगरी, सम्पदा लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार हुँदा प्रतिकित्ता ९४३.२० रुपैयाँमा झरेको छ।

कारोबार रकमका आधारमा बिहीबार शिवम् सिमेन्ट, राधी जलविद्युत्, हिमालयन डिस्टिलरी र एनआरएन इन्फ्रास्ट्रक्चर शीर्ष कम्पनी रहे।