अन्तर्राष्ट्रिय पर्यवेक्षक टोलीसँगको भेटमा स्वच्छ र निष्पक्ष निर्वाचन गराउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री सुशीला कार्कीले द एशियन नेटवर्क फर फ्रि इलेक्सन्सका प्रतिनिधिसँगको भेटमा अप्रिय घटनाबिना, शान्ति र सुरक्षासाथ निर्वाचन सम्पन्न गर्न सरकार प्रयासरत रहेको बताएकी छन्।

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छन्।

द एशियन नेटवर्क फर फ्रि इलेक्सन्स (आन्फ्रेल)को प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष चुनाव गराउन सरकार प्रतिबद्ध रहेको पनि जानकारी दिइन्। आन्फ्रेल थाइल्यान्डको बैंककमा सचिवालय रहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको सञ्जाल हो।

सचिवालयका कार्यकारी निर्देशक ब्रिजा रोसालेसको नेतृत्वको टोली अहिले नेपालको निर्वाचन वातावरणको मूल्यांकन गर्न काठमाडौँ आइपुगेको छ।

लामो समय न्यायाधीश र प्रधानन्यायाधीशका रूपमा काम गरेको व्यक्तिको नेतृत्वको सरकार भएकाले यसले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने भन्नेमा आफूहरू विश्वस्त रहेको प्रतिनिधिमण्डलका सदस्यहरूले बताए।

“तपाईंको लामो समयदेखिको न्यायिक अनुभवले स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत राजनीतिक पुनर्संरचना सम्भव हुने देखेका छौँ र त्यसले लोकतान्त्रिक संस्थालाई जोगाउनेछ”, प्रतिनिधिमण्डलको भनाइ थियो। प्रधानमन्त्री कार्कीले पनि अन्तर्राष्ट्रिय पर्यवेक्षकले चासो देखाएपछि निर्वाचन सुरु भइसकेको अनुभूति गराएको प्रतिक्रिया दिइन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “हाम्रो मुख्य उद्देश्य नै चुनाव गराउनु हो, यसैमा केन्द्रित छौँ। स्वस्थ निर्वाचनको वातावरण बनाउन नागरिक समाज र पर्यवेक्षकको पनि भूमिका रहन्छ। यहाँहरूको उपस्थितिले निर्वाचन शुरू भइसकेको अनुभूति गराएको छ।”

आन्फ्रेल प्रतिनिधिहरूसँगै नेपालको निर्वाचन पर्यवेक्षकको सञ्जाल नियोगका पदाधिकारी तथा सदस्य पनि थिए। उनीहरूले यसपालि पहिलोपल्ट मतदान गर्ने युवा मतदातामा व्यापक उत्साह देखिएकाले मतदाता शिक्षामा विशेष जोड दिन सुझाव पनि दिए। सरकारले आगामी फागुन २१ गते तोकिएको निर्वाचन सम्पन्न गराउन तयारी तीव्र पारेको छ।