काभा यू१९ मा नेपालको लगातार दोस्रो जित

कोलम्बोमा बिहीबार भएको लिग चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई सोझो तीन सेट (३–०) मा पराजित गर्‍यो।

काठमाडौँ– श्रीलंकाको कोलम्बोमा जारी सेन्ट्रल एशियन भलिबल संघ (काभा) यू१९ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ।

कोलम्बोमा बिहीबार भएको लिग चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई सोझो तीन सेट (३–०) मा पराजित गर्‍यो। नेपालले माल्दिभ्सलाई २५–७, २५–१० र २५–११ को सेटमा हराएको थियो।

यस दिनको जितपछि नेपालले तीन खेलबाट सात अंक जोडेको छ। यसअघि कीर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको नेपालले घरेलु टोली श्रीलंकालाई ३–१ को सेटमा हराएको थियो।

चार टोली सहभागी यस प्रतियोगितामा सिंगल राउन्ड रोबिनका आधारमा खेल हुनेछ र अंक तालिकाका आधारमा सेमिफाइनलका लागि टोलीहरू छनोट हुनेछन्।