फिनल्यान्डका एनआरएन अभियन्ता दम्पतीलाई मानव तस्करी र ठगीमा ५ करोड जरिबाना

पीडित दोलखाकी तारा थापा र गुल्मीका दील खरेलले फिनल्यान्डको जिल्ला तथा उच्च अदालतको फैसलाबाट झन्डै ५ करोड रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन्।

काठमाडौँ– फिनल्यान्डमा रेस्टुराँमा काम लगाउन नेपालबाट कामदार लाँदै तोकिएको सेवासुविधा नदिने गैरआवासीय नेपाली अभियन्ताको जोडीलाई हेलस्निकीस्थित अदालतले झन्डै ५ करोड रुपैयाँ क्षतिपूर्ति दिलाउन अन्तिम फैसला सुनाएको छ।

सन् १९९० को दशकदेखि फिनल्यान्ड बस्दै आएका गुल्मीका देवीदत्त शर्मा खरेल र उनकी श्रीमती मञ्जु शर्माले गरेको ‘मानव तस्करी र ठगी’ अभियोगमा परेको मुद्दामा जिल्ला अदालतले तीन बर्षअघि गरेको फैसला उच्चले पनि सदर गरेको हो।  

दोलखा, मैनापोखरीकी तारा थापा र गुल्मी, आँपचौरका दील खरेलले दायर गरेको मुद्दामा अदालतले थापालाई झन्डै २ करोड ४० लाख रुपैयाँ र खरेललाई झन्डै १ करोड ८२ लाख रुपैयाँ क्षतिपूर्ति रकम भराउने पुरानै आदेश सदर भएको हो।

राजधानी हेलसिन्कीमा रहेको नेपाली रेस्टुराँ (हिमालय)मा दुई नेपाली कामदारलाई वर्षौंसम्म तलब, सेवा–सुविधा नदिएको र निरन्तर मानव तस्करी गरेको अभियोगमा पुरानो अदालती फैसलामा चित्त नबुझेर शर्मा दम्पतीले उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए। 

रेस्टुराँ हिमालयका सञ्चालक देवी शर्मा र उनकी श्रीमती मञ्जु। तस्वीर सौजन्य: भल्टेरी हेनोनेन

तर हालै आफ्नो निवेदन फिर्ता लिँदै ‘थप कानूनी प्रक्रियामा नजाने’ भएपछि अदालतले प्रक्रियागत रूपमा पुरानै फैसला सदर गरेको हो। फिनल्यान्डका खोजपत्रकार पाभो टेइटिनेनले नेपाली, उज्वेक, युक्रेनी सहितका होटल मजदुर तथा न्यून बेतनका कामदारमाथि गरेको श्रम शोषणको अनुसन्धान गरेका थिए।

उक्त अनुसन्धानले नेपाली श्रमजीवीको पीडालाई बाहिर ल्याएको थियो। यही मुद्दामा टेइटिनेनले लेखेको पुस्तक ‘पिट्का भुओरो’ (लङ सिफ्ट) अहिले फिनल्यान्डमा चर्चामा छ।

“काठमाडौँमा रहेकी देवीदत्तकै अर्की श्रीमतीको सम्पर्कबाट म सन् २०१३ मा फिनल्यान्ड आएकी थिएँ,” फिनल्यान्डमै बसोबास गर्ने पीडित कामदार ४२ वर्षीया तारा थापाले फोनमा भनिन्, “त्यसपछिका पाँच वर्ष लगातार उनकै रेस्टुराँमा मलाई सबै खालको काम लगाइएको थियो। बन्धकझैँ काममा लगाउने र तलब, सुविधा पनि नदिने अवस्था आएपछि अति भएर सहकर्मीसँग मिलेर अदालत गएकी थिएँ।” 

जिल्ला अदालतले २०७९ चैतमै पीडितका पक्षमा फैसला गरे पनि उच्च अदालतमा मुद्दा अड्किएकाले अन्तिम निर्णय आउन ढिलाइ भएको हो। अब भने अदालती तहबाटै न्याय पाएको उनले बताइन्।  

थापालाई मासिक १ हजार २०० युरो तलब दिने भनिए पनि उनले त्यो रकम र अरू तोकिएको सुविधा नदिई दैनिक १४ घण्टाभन्दा बढी काममा खटाएपछि अदालत पुगेकी थिइन्।

फिनल्यान्डका विभिन्न शहरमा चेन–रेस्टुराँ चलाउँदै नेपालका गुल्मी, अर्घाखाँची, बागलुङ, दोलखा, पाल्पासहितबाट कामदार लैजाने र फिनल्यान्डका श्रम कानूनबारे बेखबर बनाएर काम लगाउने गरेको आरोप अदालती अभियोगपत्रमा उल्लेख छ। 

फिनल्यान्डमा ५० भन्दा बढी नेपाली रेस्टुराँ सञ्चालनमा छन्। करिब ५ हजार नेपाली कामदार/विद्यार्थी फिनल्यान्डमा रहेको अनौपचारिक तथ्यांक छ। फिनल्यान्डको कूटनीतिक सहप्रमाणीकरण मामला डेनमार्कको कोपनहेगनस्थित नेपाली दूतावासले हेर्दै आएको छ।

नेपाली सहितको श्रम शोषणको मुद्दामा कलम चलाउँदै आएका पत्रकार पाभो टेइटिनेनले जिल्ला र उच्च अदालत तहबाट भएको न्यायिक फैसलाका कारण अरू मुलुकका पीडित कामदारका निम्ति न्याय लड्ने आधार तय भएको प्रतिक्रिया दिए। “ढिलै भए पनि नेपाली श्रमिकले न्याय पाएको यो क्षण म आफै आफ्नो खोज पत्रकारिताको लडाइँमा विजेता भएसरह अनुभूति गरेको छु,” टेइटिनेनले भने। 

Sabaiko pali aauxa jasle mero mummy lai yeti sama naramro garera yo Sara duniyako aagadi j pai tei bolera vako na vako kura liyera manxe batulera kura katne harulai Yestai huna parxa mero mummy jaile sahi hunu hunthiyo satyeko Aaja jeet vako xa dherai khusi xu mero mummy le dherai dukha bhognu parya thiyo yesta manxe harule garda. Sabaiko aafno time aauxa ra teo time aayeko xa jaha mummy le nyaye paunu vako xa dherai khusi lagyo. Aaru ta kei vandina mero mummy ko aakha ma liyera aayeko aasu teo manxe harulai ekdam bhari parne wala xa. Congratulations.🩷❤️

Anisha Thapa

1 week, 4 days ago