रोल्पा नगरपालिकाले लिवाङस्थित कृषि ज्ञान केन्द्रको जग्गा र भेटेनरी अस्पतालको भवन कब्जा गरेको जानकारी जिल्ला प्रशासन कार्यालय र कृषि मन्त्रालयलाई भए पनि फिर्ताका लागि पहल गरेका छैनन्।
रोल्पा– लिवाङस्थित कृषि ज्ञान केन्द्रको जग्गा तथा भेटेनरी अस्पताल र कर्मचारी मिलन केन्द्रको भवन रोल्पा नगरपालिकाले कब्जामा लिएको छ। कृषि ज्ञान केन्द्रको जग्गा नगरपालिकाले भाडामा लगाएको छ।
कृषि ज्ञान केन्द्र रोल्पाको हकभोग भएको जग्गामा भौतिक संरचना निर्माण गरी यातायात प्रालिहरूलाई टिकट काउन्टरको रूपमा प्रयोग गर्न दिइएको छ। ६ कोठा रहेको उक्त संरचनाबाट नगरपालिकाले मासिक १२ हजार भाडा उठाउँछ। तर, कृषि केन्द्रसँग जग्गा प्रयोगसम्बन्धी कुनै सम्झौता गरेको छैन।

उक्त जग्गामा बनेका संरचनामा हिमताल यातायात, रोल्पा यातायात, जलजला हिमाल यातायात र पाण्डेश्वरी यातायातले टिकट बुकिङ काउन्टर संचालन गर्दै आएका छन्। नगरपालिकाले जबर्जस्ती भौतिक संरचना बनाएको विषय जिल्ला प्रशासन कार्यालय र कृषि मन्त्रालयमा जानकारी गराएको कृषि ज्ञान केन्द्रले जनाएको छ। यसअघिका कार्यालय प्रमुखले नगरपालिकाले जानकारी नै नदिइ संरचना बनाएको बारे माथिल्लो निकायमा जानकारी गराएको कृषि ज्ञान केन्द्र रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत अरविन्द्रमणि त्रिपाठीले जानकारी दिए।
“म केही महिनाअघि मात्रै कार्यालय प्रमुख भएर आएको हुँ”, उनले भने, “संरचना निर्माण गर्दा नगरपालिकाले कृषि ज्ञान केन्द्र रोल्पासँग समन्वय गरेको कुनै कागजपत्र देखिँदैन।”
नगरपालिकाले कृषि ज्ञान केन्द्रकै हकभोगको अर्को जग्गामा समेत थप संरचना बनाएको छ। त्यहाँ मिलिजुली हाटबजारको नाममा संरचना निर्माण गरेको हो। नगरपालिका र लुम्बिनी प्रदेश सरकारको बजेटमा संरचना बनाइएको हो। तर, अपायक स्थानमा हाट बनाएको भन्दै स्थानीय किसान र व्यापारी त्यहाँ जान मानेनन्।

उक्त हाट दुई वर्षअघि निर्माण भएको हो। किसान र व्यापारी अहिले पनि लिवाङको साँघुरो सडकमै सामग्री बेच्छन्। हाटबजारका लागि बनाइएको संरचना भने प्रयोगमा नआउँदा बेवारिसे भएर जीर्ण हुन थालेका छन्।
त्यहाँ केही समय हाटबजार लागे पनि अपायक भएपछि स्थानीय जान छाडेको व्यापारी दयाराम डाँगी बताउँछन्। सुनछहरी हाटबजारको नाममा सदरमुकाम लिवाङमै अर्को हाटबजार लाग्छ। उक्त हाटबजारको आफ्नै जग्गा र भवन छ। त्यसैले, नयाँ हाटबजार बनाएर नगरपालिकाले बजेट दुरुपयोग गरेको डाँगीको आरोप छ।
मिलिजुली हाटबजारमा किसान र व्यापारी नगएपछि नगरपालिकाले अहिले सो हाटबजारको बोर्ड कर्मचारी मिलन केन्द्रको भवनमा झुन्ड्याएको छ। उक्त भवनलाई बिक्री कक्ष बनाउन नगरपालिकाले कर्मचारी मिलन केन्द्रसँग पनि अनुमति लिएको छैन। २०५३ सालमा स्थापना भएको रोल्पा कर्मचारी मिलन केन्द्रले त्यति बेलैदेखि सो भवनमा कार्यालय सञ्चालन गरेको थियो।

नगरपालिकाले भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्र रोल्पाका दुई वटा भवन र एउटा तालिम हलसमेत हस्तक्षेप गरेर प्रयोग गरिरहेको छ। भेटेनरी अस्पतालको उक्त भवनमा हाल नगरपालिकाका विभिन्न शाखासहित दुई वटा कार्यालय संचालनमा छन्। एउटै भवनमा दुई वटा कार्यालयको साइनवोर्ड झुण्ड्याइएको छ।
नवनिर्मित प्रशासनिक भवनको सातवटा कोठा रोल्पा नगरपालिकाले र पाँचवटा भेटेनरी अस्पताल तथा पशुसेवा केन्द्रले प्रयोग गर्छन्। भेटेनरी अस्पतालको ‘डिस्पेन्सरी’ भवनमा समेत नगरपालिकाले विभिन्न फाँट राखेको छ।
पहिलो तला भेटेनरी अस्पतालले डिस्पेन्सरीको रूपमा प्रयोग गर्छ। दोस्रो तला नगरपालिकाले प्रयोग गर्छ। भेटेनरी अस्पतालले निर्माण गरेको तालिम हलमा समेत रोल्पा नगरपालिकाले कार्यालय संचालन गर्दै आएको भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्रका एक कर्मचारीले बताए। त्यही कारण आफूहरूलाई दैनिक कामकाज गर्न कनिठाइ भैरहेको ती कर्मचारीको भनाइ छ। “भेटनरी अस्पताल तथा पशु सेवा केन्द्रका लागि बनेको भवनमा दुई वटा कार्यालय संचालन गर्नु पर्दा कस्तो सेवा प्रवाह भैरहेको होला?” ती कर्मचारीले प्रश्न गरे।
यस विषयमा कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पतालका कर्मचारी र कर्मचारी मिलन केन्द्रका पदाधिकारीहरू खुलेर बोल्न चाहँदैनन्। तर, नगरपालिकाले स्थानीय सरकारको रूपमा दम्भ देखाएको एक कर्मचारीले बताए। जिल्ला प्रशासनले पनि नगरपालिका हटाउन पहल गर्नै नसकेको ती कर्मचारीको भनाइ छ।
कतिपय स्थानीय पनि नगरपालिकाको कामबाट सन्तुष्ट छैनन्। स्थानीय तिलचन्द्र आचार्य नगरपालिकाले आफ्नो सीमा नाघेर अन्य कार्यालयको जग्गा र कार्यालय भवन कब्जा गरेको बताउँछन्। समन्वय गर्नुपर्ने निकायले जबर्जस्ती गरेको उनको भनाइ छ।
रोल्पा नगरपालिकाका प्रवक्ता प्रकाश डाँगी पशुसेवा कार्यालयको भवन फिर्ता दिने तयारी भइरहेको बताउँछन्। “राज्य पुनर्संरचनाको क्रममा पशुसेवा कार्यालय स्थानीय तह मातहत रहने भन्ने भएपछि रोल्पा नगरपालिकाले आफ्नो कार्यालय भेटनरी अस्पताल तथा पशुसेवा केन्द्रको भवनमा लगेको हो”, उनले भने, “उक्त कार्यालय फेरि प्रदेश सरकार मातहतमा राखियो। अहिले नगरपालिकाले प्रयोग गरेको भवन छाड्ने तयारी छ।”
लिवाङमा रहेका विभिन्न यातायात व्यवसायी समितिहरू अस्तव्यस्त रहेकाले तिनलाई व्यवस्थापन गर्न कृषि ज्ञान केन्द्रको जग्गामा टिकट काउन्टर स्थापना गरिएको डाँगी बताउँछन्। त्यसैगरी, कृषकहरूले उत्पादन गरेका उपज बिक्री वितरणमा समस्या भएपछि कृषि ज्ञान केन्द्रले प्रयोगमा नल्याएको जग्गामा मिलिजुली हाटबजार स्थापना गरिएको उनको भनाइ छ। कृषककै हित र कल्याणका लागि जग्गा प्रयोग गरिएको उनको दाबी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
