यो साता उकालोमा, ‘कपाल काट्न हिँडेका गणपतिलाल अनि चप्पलमै प्रधानमन्त्री कार्यालय पुगे’, ‘प्रतिबन्धित एन्टिबायोटिक भित्र्याउन औषधि व्यवस्था विभागको साथ’, ‘अस्थायी डाइभर्सनबाट कहिलेसम्म चल्ला बीपी राजमार्ग?’ लगायतका समाचार चर्चामा रहे।
न्युजलेटर शुरू गरौँ, प्रभु बैंकको ४८ लाख डलर अपचलनको समाचारबाट। देवी भट्टचनको कम्पनी ‘प्रभु यूएस’ले तिर्नुपर्ने ४८ लाख डलर अमेरिकाबाट नपठाउँदा उनै पूर्वअध्यक्ष रहेको प्रभु बैंक मारमा छ। यो अपचलन भट्टचन र बैंकका सीईओ अशोक शेरचनको मिलेमतोमा भएको हो।
डेढ महिना पहिलेसम्म देवी भट्टचनसँग के थिएन! दिन दुगुणा रात चौगुणा ‘तरक्की’ गर्दै फैलिएको व्यावसायिक घराना प्रभु ग्रुपको अध्यक्ष। ग्रुपअन्तर्गत करिब तीन दर्जन व्यवसाय–कम्पनीका हर्ताकर्ता। अझ सरकारको नेतृत्वमा रहेको दल नेकपा एमालेका सांसद।
सांसद मात्र नभई एमालेमा तत्कालीन प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओलीका निकटतम विश्वासपात्र पनि थिए। त्यही पहुँचले भट्टचनलाई व्यवसायमा गरेका जस्तासुकै काममा पनि ‘रक्षाकवच’को काम गरिरह्यो।
भदौ २३–२४ को जेन–जी आन्दोलनबाट जब ओली नेतृत्वको एमाले–कांग्रेस गठबन्धन सरकार अपदस्थ भयो, त्यहीँबाट भट्टचनको यो ‘व्यापारिक साम्राज्य’मा पनि ‘दशा’ लागेझैँ हुन गयो। गत कात्तिक ११ गते त उनी ठगी, आपराधिक विश्वासघात र राष्ट्र बैंक ऐन बमोजिमको कसुर गरेको आरोपमा पक्राउ नै परे। भट्टचन यतिखेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन्।
सीआईबीले यो प्रकरणमा उनकै पूर्वव्यावसायिक साझेदार कुसुम लामासँग तीन दिन लगाएर बयान लिएको छ। भट्टचनसँग पनि अदालतबाट म्याद थपेर विस्तृत बयान लिने प्रक्रिया चलिरहेको छ।
भट्टचन पक्राउसँगै उनका नातेदारसमेत रहेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन कार्यालय जान छाडेका छन्। उनी अहिले सम्पर्कमा छैनन्।
भट्टचन आफै संस्थापक रहेको प्रभु बैंककै ठूलो रकम अपचलन गरेको भेटिएको छ। भट्टचनले रेमिट्यान्स कारोबारका लागि अमेरिकामा खोलेको कम्पनी ‘प्रभु यूएस’ ले प्रभु बैंकलाई भुक्तानी गर्नुपर्ने औसतमा ५० लाख अमेरिकी डलर बैंकलाई नपठाई अमेरिकामै राखेको भेटिएको छ।
बैंकको सिस्टमबाट हामीले प्राप्त गरेको हिसाब हेर्दा २०२० मे महिनायता (यो स्टोरी तयार पार्दासम्म) प्रभु यूएसले नेपालको प्रभु बैंकलाई ४८ लाख अमेरिकी डलर (करिब ६८ करोड रुपैयाँ) तिर्न बाँकी देखिन्छ। यसबारे थप बुझ्न पढ्नुहोस् दिपा दाहाल र केशु लामिछानेको यो रिपोर्ट : देवी भट्टचन–अशोक शेरचनले अपचलन गरेको ४८ लाख डलर
अब कुरा गरौँ, ‘हाइप्रोफाइल’ केसको। नाबालिग करणीसम्बन्धी एउटा मुद्दामा सरकारले सत्ता–शक्तिको दबाबमा सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने प्रक्रिया अगाडि बढाएको छ। आफ्नै संरक्षणमा राखिएकी १३ वर्षीया बालिकालाई करणी गरेको आरोप लागेका ४१ वर्षीय व्यापारी सुशील चटौतलाई सरकारले माथिल्लो अदालतमा मुद्दा नलगी उन्मुक्ति दिने तयारी गरेको हो।
ललितपुर जिल्ला अदालतले चटौतलाई दोषी ठहर गर्दै १८ वर्ष एक महिना कैद र पीडितलाई आठ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो। तर पाटन उच्च अदालतले २०८१ जेठमा जिल्लाको फैसला उल्टाउँदै उनलाई सफाइ दियो। फैसलाको पूर्णपाठ २०८१ भदौमै सार्वजनिक भए पनि उच्च सरकारी वकिल कार्यालय, पाटनले एक वर्षसम्म पुनरावेदन गर्ने वा नगर्ने निर्णय गर्न सकेको थिएन।
फैसलाको पूर्णपाठ बुझेपछि पुनरावेदनको म्याद गणना हुने भएकाले उच्च सरकारी वकिल कार्यालयले फैसला बुझेको भर्पाई गरेको थिएन। सरकारको दबाब थेग्ने उक्त चलाखी धेरै टिक्न सकेन। उच्च सरकारी वकिल कार्यालय पाटनका सूचना अधिकारी एवं सहायक न्यायाधिवक्ता छविलाल चालिसेका अनुसार, गत भदौ २२ गते पुनरावेदन नगर्ने रायसहितको प्रस्ताव महान्यायाधिवक्ताको कार्यालयमा पठाउने निर्णय भएको छ।
आरोपित सुशील चटौतका बुवा तीर्थराज कांग्रेस कोषाध्यक्ष तथा पूर्वराज्यमन्त्री उमेश श्रेष्ठका व्यापारिक साझेदार छन्। यही राजनीतिकका साथै आर्थिक बलमा मुद्दा अनुसन्धानकै चरणदेखि दबाउन खोजिएको थियो। बालिकाको परिवारलाई समेत ‘होस्टाइल’ बनाइएको थियो।
पुनरावेदन नगर्ने राय लेख्ने निर्णय भएको भोलिपल्टै जेन–जी आन्दोलन भएपछि उक्त राय महान्यायाधिवक्ताको कार्यालयमा दशैँपछि पठाइएको थियो। महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता एवं सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले फाइल आएको सुने पनि आफू यसबारे थप कुरा गर्न असमर्थ भएको बताए। यसबारे विस्तृतमा बुझ्न मनबहादुर बस्नेतको यो रिपोर्ट पढ्नुहोस् : नाबालिग बलात्कारका ‘हाइप्रोफाइल’ अभियुक्तलाई उन्मुक्तिको तयारी
साताका प्रमुख हेडलाइनहरू
देश-समाज
प्रतिबन्धित एन्टिबायोटिक भित्र्याउन औषधि व्यवस्था विभागको साथ
नेपालमा दर्ता नभएका एन्टिबायोटिक आयात गर्न किर्ते कागजात बनाउने व्यवसायी हेमराज बडाल प्रहरी अनुसन्धानमा छन्। तर ती औषधि भित्र्याउँदा कारबाही नचलाउने सरकारी अधिकारी अनुसन्धानको दायरामै छैनन्।
बिहार विधानसभा निर्वाचनसँग के छन् नेपालको सरोकारका विषय?
सीमा सम्बन्ध मात्र नभएर सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सरोकार पनि बिहारसँग गहिरो रूपमा जोडिने भएकोले त्यहाँको चुनाव र राजनीतिक परिवर्तनले नेपालका लागि अर्थ राख्दै आएको विश्लेषक बताउँछन्।
के मतदाता नामावलीमा दर्ता हुनासाथ मतदान गर्न पाइन्छ?
१६ वर्ष पुगेसँगै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न पाइन्छ। तर निर्वाचन आयोगले १८ वर्ष पुगेका मतदाताको मात्र अन्तिम नामावली प्रकाशित गर्छ। कसरी हुन्छ नाम दर्ता?
अस्थायी डाइभर्सनबाट कहिलेसम्म चल्ला बीपी राजमार्ग?
गत वर्षको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको करिब ३० किमी खण्ड पटक–पटक बग्दा अस्थायी डाइभर्सनमा मात्र करिब ६ करोड खर्च भइसकेको छ, तर ठेक्का लागेर पनि स्थायी संरचना बनाउन अझै शुरू भएको छैन।
कपाल काट्न हिँडेका गणपतिलाल अनि चप्पलमै प्रधानमन्त्री कार्यालय पुगे
जेन–जी आन्दोलनपछि सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठलाई संस्कृतिमन्त्री बनाउन प्रस्ताव भयो। तर शपथको दिन अचानक भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिने भनिएपछि उनले पद अस्वीकार गरे।
विचार-टिप्पणी
बदलिँदो शिक्षा: जब एआईले कक्षाकोठा कब्जा गर्छ
अब विद्यार्थीले तथ्य सम्झनुभन्दा पनि सोच्न, प्रश्न गर्न र एल्गोरिदमले नदेख्ने अर्थ खोज्न सिक्नुपर्छ। जब प्रविधिले उत्तर सजिलै दिन सक्छ, शिक्षाको सार प्रश्न सोध्ने क्षमतामा निहित हुन्छ।
‘राजनीतिक इच्छाशक्ति भए विदेशमा रहेका नेपालीले भोट हाल्न पाउँछन्’
‘भावनात्मक रूपमा हाम्रो जरा यहाँको माटोसँग गाँसिएको छ। विदेशमा बस्ने धेरै नेपाली पहिलो पुस्ताका छन्। यहाँका हरेक क्रियाकलापमा हाम्रो चासो छ। तर दोस्रो वा तेस्रो पुस्तामा त्यस्तो नहुन पनि सक्छ।’
कार्यपालिका–न्यायपालिका द्वन्द्वको संकेत
यो सरकारलाई ‘२०८४ सालमा हुनुपर्ने चुनाव २०८२ सालमै सम्पन्न गर्न बनाइएको’ भनिन्छ भने, जेन–जी आन्दोलनलाई ‘डिसमिस’ गरिनु हो। कलिला युवाहरूको रगतको अवमूल्यन हो।
‘बालेनले दोहोरो अन्तर्वार्ता दिएकै दिन उहाँको छवि ध्वस्त हुन्छ’
‘अव्यवस्थित बसोबासीलाई ७ दिनभित्र हटाउने भनेर कुलमानजी र बालेनजी मिलेर अल्टिमेटम जारी गर्नुभएको छ, त्यसमा जेनजी अभियन्ताहरू कहाँ उभिनुहुन्छ?’
रामकुमारी झाँक्रीलाई प्रश्न– अब एमालेमै फर्कनु हुन्छ?
‘हामी एमालेको ब्याडको बेर्ना हौँ। एमालेसँग निरन्तर संवाद भइरहेको छ। त्यही भएर अन्य साथीहरुलाई केही समय पर्खन भनिरहेका छौँ।’
खेल
एनपीएलः दोस्रो सिजन शुरू हुँदानहुँदै फेरि अपारदर्शी खेल
एनपीएलको पहिलो सिजनको ‘ब्लकबस्टर’ सफलतालाई प्रतियोगिता सकिएसँगै क्रमशः उजागर त्यसभित्रका अपारदर्शी खेलले खल्लो बनाए। दोस्रो सिजन शुरू हुँदानहुँदै फेरि त्यस्तै खेल दोहोरिँदै गरेका तथ्य बाहिर आउँदै छन्।
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा ४ विकेटले पराजित
बुधबार दुबईमा सम्पन्न अन्तिम खेलमा घरेलु टिम यूएईसँग चार विकेटको हारसँगै नेपालको यात्रा जितविहीन हुँदै टुंगिएको हो।
विश्व
न्युयोर्कको मेयरमा जोहरान मामदानी विजयी
३४ वर्षीय ममदानी १०० वर्षभन्दा बढीको इतिहासमा न्युयोर्क शहरका सबैभन्दा कान्छो तथा पहिलो मुस्लिम मेयर बन्न सफल भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
