लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु

लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।

लमजुङ– लमजुङमा जिपको ठक्करबाट क्व्होलासोथार गाउँपालिका–१, बागलुङपानीकी कृति तामाङकी दुई वर्षीया छोरी नेरिमा तामाङको मृत्यु भएको छ। 

शुक्रबार क्व्होलासोथार गाउँपालिका–३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग१ज ६३०६ नम्बरको बोलेरो जिपले सोही स्थानमा ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र क्षेत्रीका अनुसार, जिपको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि बेँसीसहर–८ स्थित प्रदेश अस्पतालमा लगिए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले जिप चालक बेँसीसहर–९ का २९ वर्षीय मदन दुलाललाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ। बालिकाको शव परीक्षण भइरहेको र परीक्षणपछि परिवारलाई बुझाइने प्रहरीले बताएको छ।