मतदाता नामावलीमा नाम टिपाइ ‘विवेकको मत’ प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री कार्कीले विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने बताइन्।

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्ताका योग्य नागरिकलाई मतदाता नामावलीमा नाम संकलन गरेर आगामी निर्वाचनमा ‘विवेकको मत’ प्रयोग गर्न आह्वान गरेकी छन्।

प्रधानमन्त्री कार्कीले आजको भिडियो सन्देशमार्फत आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा विवेकको मत प्रयोग गर्न आह्वान गरेकी हुन्।

भिडियो सन्देश जारी गर्दै उनले भनिन् “जेनजी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थमा बदल्न, सबैभन्दा पहिला हामीले मतदाता परिचयपत्र बनाउनुपर्छ र त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ।”

प्रधानमन्त्री कार्कीले विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने बताइन्।

“तपाईंहरू आफैँ सही प्रतिनिधि बन्नुपर्छ। विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्छ,” उनले भनिन्, “मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचयपत्र बनाऔँ।”