सुरक्षा खतरा भन्दै रुसी नागरिकका लागि भिसा नियममा ईयूले गर्‍यो थप कडाइ

धेरै सदस्य राष्ट्रहरूमा ड्रोन आक्रमण र आगजनीका शंकास्पद घटनाहरू बढेपछि ईयूले त्यसलाई रुसी 'हाइब्रिड युद्ध'को खतरा मान्दै भिसा प्रतिबन्धको उपाय अपनाएको छ।

युक्रेन युद्ध शुरू भएको लगभग चार वर्षपछि युरोपेली संघ (ईयू)ले बढ्दो सुरक्षा खतरालाई कारण देखाउँदै रुसी नागरिकलाई दिइँदै आएको बहुप्रवेश भिसा नदिने निर्णय गरेको छ। ईयूका धेरै सदस्य राष्ट्रहरूमा ड्रोन आक्रमण तथा आगजनीका शंकास्पद घटना बढेपछि रुसी ‘हाइब्रिड युद्ध’को खतरा देखिएको भन्दै भिसा प्रतिबन्धको उपाय अपनाइएको हो।

“युरोपमा आक्रमण गर्नु र स्वतन्त्र रूपमा घुम्न अपेक्षा गर्नुलाई पुष्टि गर्न गाह्रो छ,” ईयूका विदेश मामिला प्रमुख काजा कल्लासले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्,  “युरोपेली भूमिमा निरन्तर ड्रोन आक्रमण र तोडफोडका घटनापछि ईयूले रुसी नागरिकहरूको लागि भिसा नियमहरू कडा गर्दै छ।”

ब्रसेल्स (ईयूको मुख्यालय)ले जनाएअनुसार, अब रुसी नागरिकले ईयू यात्रा गर्ने योजना बनाउँदा प्रत्येक पटक नयाँ भिसाका लागि आवेदन दिनुपर्नेछ। यसो गर्दा कुनै पनि सम्भावित सुरक्षा जोखिम कम गर्न आवेदकको गहन र बारम्बार छानबिन गर्न सकिनेछ।

यद्यपि, नयाँ नियमहरू ‘स्वतन्त्र पत्रकार र मानव अधिकार रक्षकजस्ता जायज मामिलाहरूको लागि अपवाद’ हुने बताइएको छ। गत महिनाको अघिल्लो प्रतिबन्धमा २७ सदस्य राष्ट्रहरूको समूह (ईयू)मा तैनाथ रुसी कूटनीतिज्ञहरूको यात्रामा समूहले कडा नियन्त्रण गरिसकेको छ।

रुसप्रति कडा अडान राख्ने केही देश‍ले युक्रेनमा युद्ध चलिरहेको बेला नै पर्यटनका लागि स्वतन्त्र रूपमा सहज यात्रा गर्न सम्भव छैन भन्दै लामो समयदेखि साधारण रुसीहरूमा कडा भिसा सीमाका लागि जोड दिइरहेका थिए। उनीहरूले सन् २०२२ मै रुससँगको भिसा सहजीकरण सम्झौता निलम्बन गरिसकेका थिए। सदस्य राष्ट्रहरूलाई रुसी नागरिकका लागि भिसामा 'रोक' लगाउनसमेत सुझाव दिएका थिए।

ब्रसेल्सका अनुसार ईयूले रुसीहरूलाई दिएको भिसाको संख्या युद्धअघिको ४० लाख थियो। यो सन् २०२३ पछि घटेर पाँच लाखमा सीमित भएको छ। कूटनीतिज्ञहरूले स्वीकृतिको संख्या पछिल्ला दिनहरूमा फेरि बढ्न थालेको बताइएको छ। पर्यटक आकर्षण केन्द्र फ्रान्स, स्पेन र इटालीले भने सबैभन्दा धेरै भिसा प्रदान गरेका छन्।

कडाइको पक्षमा रहेका देशहरूको तर्क छ कि साधारण रुसीहरूले पनि युद्धको प्रभाव बढी महसुस गर्नुपर्छ। तर, क्रेमलिनका विपक्षीहरूले ईयूलाई रुसी नागरिकलाई युरोपबाट अलग नगर्न आग्रह गरेका छन्।

रुसी विपक्षी नेता युलिया नाभाल्नायाले सेप्टेम्बरमा भनेकी थिइन्, “व्यापक प्रतिबन्धहरू लगाउने निर्णय गम्भीर गल्ती हुनेछ किनकि यसले सबै रुसीहरूप्रति युरोप शत्रुतापूर्ण धारणा राख्छ भन्ने क्रेमलिनको दाबीलाई बल पुर्‍याउँछ।” 

उनले ईयूलाई राष्ट्रपति भ्लादिमिर पुटिनको नजिकका अभिजात वर्गलाई मात्र लक्षित गर्न र सबै रुसी नागरिकलाई आवतजावतमा रोक नलगाउन आग्रह गरेकी थिइन्। “युरोपमा शान्ति प्राप्त गर्ने उद्देश्यका लागि रुसी समाजलाई अलग गर्न रुसी अधिकारीहरूलाई सहयोग गर्नु प्रतिकूल हुनेछ,” नाभाल्नायाले कल्लासलाई लेखेको पत्रमा उल्लेख छ।