पहाडको सामाजिक अव्यवस्था र दिगो घरेलु अर्थतन्त्रको अवसान

एक समयका ‘मालिक घर’हरूमा चिटिक्क परेका झ्याल, रंगीन बार्दली र कलात्मक ढोका थिए। अहिले रित्ता, चर्किएका र भत्किन लागेका ती घरहरू पहाडको सामाजिक र आर्थिक पतनको मौन साक्षी बनेका छन्।

उहिले मकै र धान फल्खे खेतबारीमा जंगल बढेका थिए। उहिले मेलापात र अर्मपर्म गर्ने मान्छे बसाइँ हिँडिसकेका थिए। घरहरू बूढा थिए, स्याहार थिएनन्। परम्परागत अन्तरसम्बन्ध र अर्थतन्त्रमा खाडल थियो। गाउँ धेरै परिवर्तन भइसकेको थियो।

यसरी गाउँको दृश्य फेरिन थालेको अढाई दशकजति भयो। ग्रामीण परिवेश अझ परिवर्तन हुँदै गइरहेको छ। युवा अडिन छाडेका छन्।

दशक लामो माओवादी सशस्त्र युद्धले देशको सामाजिक र सांस्कृतिक संरचनामा गहिरो परिवर्तन ल्यायो। परिवर्तन केवल राजनीतिक क्षेत्रमा मात्र सीमित रहेन, सामाजिक सम्बन्ध, वर्ग संरचना, लैंगिक भूमिका, जातीय चेतना र सांस्कृतिक अभिव्यक्तिमा समेत देखियो।

पहिलो– जातीय र वर्गीय चेतनाको वृद्धि सशस्त्र युद्धको प्रमुख प्रभाव रह्यो। माओवादीहरूले वर्गसंघर्ष र जातीय समानताको नारा दिएर मुलुकभरि दबिएका, पछाडि पारिएका र उपेक्षित समुदायलाई राजनीतिमा सहभागिता दिलाए। दलित, आदिवासी जनजाति, महिला, मधेशीलगायत समुदायहरू आफूलाई अब मुख्यधारको राजनीतिक आवाजका रूपमा देख्न थाले। यो चेतनाले सामाजिक पदानुक्रमीय ढाँचालाई चुनौती दियो।

दोस्रो– महिलाको भूमिकामा उल्लेखनीय परिवर्तन देखियो। सशस्त्र युद्धमा महिलाहरूले सक्रिय रूपमा सहभागिता जनाए— लडाकु, स्वास्थ्यकर्मी, सूचनावाहकदेखि राजनीतिक नेता र निर्णयकर्ताको भूमिकामा पनि। यसले परम्परागत रूपमा महिलालाई घरको सीमामा बाँध्ने सामाजिक सोचलाई खारेज गर्दै लैंगिक समानताको मागलाई सशक्त बनायो।

तेस्रो– युद्धले गाउँका सामाजिक संरचनामा खलल पुर्‍यायो। परम्परागत सामाजिक बन्धनहरू कमजोर हुँदै गए। गाउँका भजन, मेलापात, जातीय सांस्कृतिक पर्व र सहकार्यका रूपहरू धमिलिए। युद्धको समयमा भएका हिंसा, विस्थापन, र विभाजनले गाउँका सामाजिक सम्बन्धमा दरार ल्यायो।

तर यसका सकारात्मक पक्षहरू पनि देखिन्छन्। सांस्कृतिक चेतना र विविधताप्रति सम्मानको भावना बढेको छ। विभिन्न भाषाभाषी र जातीय समुदायहरू अब खुलेर आफ्ना संस्कृति, भेषभूषा र परम्परालाई आत्मगौरवको रूपमा प्रस्तुत गर्न थालेका छन्। मिडिया, शिक्षा र कला क्षेत्रमा यो विविधता झल्किन थालेको छ।

अन्ततः माओवादी द्वन्द्वले नेपाली समाजमा गहिरो सामाजिक–सांस्कृतिक परिवर्तनको बीउ रोपेको छ। ती परिवर्तनहरू अझै पूर्णरूपमा संस्थागत भइनसके पनि, सामाजिक संरचना अब पुरानै अवस्थामा फर्किन सक्दैन। यसले समावेशी, समान र न्यायपूर्ण समाजको सम्भावनालाई जन्म दिएको छ, जसको निरन्तर सम्वर्द्धन आवश्यक छ।

माओवादी विद्रोहले सामाजिक मात्र होइन, आर्थिक संरचनामा पनि गहिरो असर पारेको छ। परम्परागत जीवनशैली, कृषि अभ्यास, खाद्य उत्पादन र सांस्कृतिक पर्वहरूको स्वरूपमा व्यापक परिवर्तन आएको छ। यस आलेखमा  माओवादी विद्रोहको  प्रभावले कसरी परम्परागत टीकाउ दिगो घरेलु अर्थतन्त्र र महत्त्वपूर्ण सामाजिक र परम्परागत चलनहरू हराउँदै गए भन्ने विषयमा चर्चा गरिनेछ।

सामाजिक अव्यवस्था, स्थानान्तरण र त्रासदी
२०२४ अक्टोबरको चिसो हावासँगै म मेरो जन्मथलो तेह्रथुमको फाक्चामारा  पुगेको थिएँ। यसपटक करिब नौ वर्षपछि त्यहाँ पुग्ने संयोग जुरेको थियो। विराटनगरबाट धरान–धनकुटा हुँदै तेह्रथुम पुग्दा विभिन्न व्यक्तिहरूसँग कुराकानी गर्ने अवसर जुर्‍यो।

सशस्त्र युद्धको समयमा गाउँहरू असुरक्षित थिए। केही केही  युवाहरू विद्रोहमा सामेल भए, कतिपय परिवार डरका कारण तराई वा शहरतिर पलायन भए। मध्यम वर्ग पहाड छोडेर बसाइँ सर्दा तराई  र शहरी  छेत्रमा जनसंख्या बढ्यो। पहाड शून्य हुँदै गयो।

यसले गाउँमा सामाजिक संरचना कमजोर बनायो। सामुदायिक सहकार्य, मेलापात, र परम्परागत सामाजिक सम्बन्धहरू टुट्न थाले। गाउँमा वृद्ध र बालबालिकाको मात्र उपस्थिति रहन थाल्यो। जसले सामाजिक गतिशीलता र सामूहिक जीवनशैलीमा अवरोध पुर्‍यायो।

यो विद्रोहको उदण्डता नेपालको इतिहासमा एउटा अवर्णनीय त्रासदी काल थियो। मुख्यतः पहाडी संस्कृतिमाथिको बञ्चरो प्रहार थियो। अधिकांश मध्यम वर्ग र यी परम्परागत संस्कारमा रहेको र रहन चाहने पहाडी क्षेत्रको तल्लो वर्गले समेत यो प्रताडना भोग्यो। त्यसको असर अहिले पनि देखिन्छ।

देश निर्माण र पुनर्निर्माणमा यस्ता घटना हुन्छन् भनेर भन्ने हो भने माओवादी वितण्डाले न देशको पुनर्निर्माण गर्‍यो, न सामाजिक न्यायको सानो निब नै गाड्यो। निश्चित व्यक्तिहरूको वर्ग परिवर्तन र सयौँ व्यक्तिको उठिबाससहित नेपाली पहाडी संस्कृतिको समाप्तिमा यो तत्कालका लागि टुङ्गियो। तर दूरगामी नकारात्मक असर छाडेर गयो।

कृषि अभ्यास र घरेलु अर्थतन्त्रको विघटन
पूर्वी पहाडका बासिन्दाहरू परम्परागत रूपमा आत्मनिर्भर कृषि प्रणालीमा आधारित थिए। धान, कोदो, फापर, मकै, आलु र सिमीजस्ता अन्नबालीहरू उत्पादन गरिन्थ्यो। खाद्य प्रशोधनका परम्परागत विधिहरू— जस्तै ढिकी, जाँतो, सिलौटो प्रचलनमा थिए। 

तर विद्रोहपछि खेतबारी बाँझिन थाले। र उत्पादन घट्यो। युवाहरूको पलायनले श्रम अभाव भयो, जसले खेती प्रणालीलाई कमजोर बनायो। बजारमुखी अर्थतन्त्रको प्रवेशले घरेलु उत्पादनको स्थान लिन थाल्यो, दिगो घरेलु अर्थतन्त्र हराउँदै गयो।

पहिले हरेक घरमा एउटा भैँसी, एक हल गोरु, केही खसीबोका, एउटा गाई हुन्थे। अब  भैँसी देख्न छाडिएको छ। गोरु पनि एकाध घरमा मात्र देखियो। हरेक घरमा हुने हलो, जुवा, हल्लुड, जोतारा प्रायः विलय भइसके छन्। 

खेत रोप्न छोडेपछि कोदाली हराइसकेछन्। खेत रोप्दा बेठी लाउने भनेको कथा भइसकेछ। पर्म प्रथा पनि हराएछ। 

मोही पार्ने ठेकी, मदानी, नेती सबै हराएछन्। मोही पार्न बिजुलीले चल्ने फिर्के गाउँ पुगेछ। तोरी र फिलुङ्गेको तेल पेल्ने चेपुवा र पेचा अबको पिँडीले चिन्दो रहेनछ। यहाँसम्म कि, अब जनै पूर्णिमामा फेर्ने जनै घरको चर्खाबाट बनाउने होइन, बजारबाट किनेर ल्याउन थालिएछ। परनिर्भरता दिनानुदिन बढिरहेको रहेछ।

घरहरूको विघटन
माओवादी विद्रोहअघि पहाडमा एक सशक्त मध्यम वर्ग थियो। यी परिवारहरू कृषि, सानोतिनो किराना पसल र शिक्षा  सेवामा आधारित जीवन बिताउँथे। उनीहरूको घरहरू ढुंगा, काठ र टायलले  अथवा च्यादरको छानुले बनेका र मालिकको प्रतिष्ठाको प्रतीक थिए।

तर विद्रोहपछि मध्यम वर्गको संरचना टुट्यो। धेरैले घर छोडे। कि मधेश पलायन भए, वा शहरतिर सरे। ती एक समयका ‘मालिक घर’हरूमा चिटिक्क परेका झ्याल, रंगीन बार्दली र कलात्मक ढोका थिए। अहिले भूतबंगला जस्ता देखिन्छन्।

रित्ता, चर्किएका र भत्किन लागेका ती घरहरू पहाडको सामाजिक र आर्थिक पतनको मौन साक्षी बनेका छन्। कुनै समय गाउँको केन्द्रमा रहेको जीवनशैली अब विघटनको छायाँमा हराएको छ।

सांस्कृतिक स्वरूपमा परिवर्तन
दशैँ र तिहारजस्ता पर्वहरू पहाडमा विशेष उत्साहका साथ मनाइन्थ्यो। दशैँमा जमरा राख्ने, टीका लगाउने, स्थानीय बाटो सुधार र मर्मत गर्ने, लिंगे पिङ हाल्ने, घरघरमा चिउरा कुट्ने हुन्थ्यो।

दशैँको रौनक बेग्लै थियो, त्यसको अनुभूति हुन्थ्यो। नौरथा लागेपछि नगरा बजेको सुनिन्थ्यो। अब त ढिकी र जाँतो हराइसके छन्।  चिउरा पनि बजारबाट किनेर ल्याइँदो रहेछ। 

पहिले तिहारमा देउसीभैलो खेल्ने परम्परा जीवित थियो। अब देउसीभैलो पनि युट्युबमा बजाएर मात्र आँगनमा आउन थालेछ। विद्रोहताका  सुरक्षा चिन्ताले पर्वहरू घरभित्र सीमित भए। सामूहिक भेला हुन नसक्ने अवस्था आयो। 

त्यति मात्र होइन, आर्थिक संकटका कारण नयाँ लुगा, मासु, मिठाईजस्ता पर्वका सामग्रीहरू उपलब्ध गराउन कठिन भयो। यसले पर्वहरूको सांस्कृतिक र सामाजिक पक्षमा गहिरो असर पुर्‍यायो।

पुरानो पतन र नयाँ खाडल
माओवादी विद्रोहले पूर्वी पहाडमा सामाजिक अव्यवस्था मात्र होइन, परम्परागत दिगो घरेलु अर्थतन्त्रको पनि पतन निम्त्यायो। मध्यम वर्गको विघटन, कृषि प्रणालीको पतन, र सांस्कृतिक पर्वहरूको कमजोर स्वरूपले पहाडको पहिचानलाई संकटमा पारेको छ। 

एक समयका समृद्ध घरहरू आज भत्किन लागेका संरचनामा परिणत भएका छन्। आजको आवश्यकता भनेको ती परम्परागत अभ्यासहरूको पुनरुत्थान र सामाजिक पुनर्संरचना हो, जसले स्थानीय आत्मनिर्भरता, सांस्कृतिक पहिचान र सामूहिक जीवनशैलीलाई पुनः स्थापित गर्न सक्छ। 

हामीले विगतका मूल्यहरूलाई पुनः स्थापित गर्न सके पहाडको जीवनशैली फेरि समृद्ध र सन्तुलित बन्न सक्छ। यसो गर्न सकिँदैन भने माथि उल्लेख गरिएका लोप हुँदै गएका परम्परा र सामग्रीहरूलाई कतै संग्रहालय बनाई असुरक्षित राख्दा हुन्छ।

(क्यानडाको भ्यानकुभर निवासी दाहाल अर्थशास्त्री हुन्। उकालोको विचार खण्डमा प्रकाशित लेख लेखकका निजी विचार हुन्।)

सरल भाषामा लेखिएको यश लेख समय सानदर्भिक र चेतनामुलक छ। एक कृषि प्रधान देशका युवा पिढि गाउघरमै केही गर्ने अवशरको अभावमा भनौं वा समग्र बासिहरुको सहभागिता सहित मध्यम वर्गको संरक्षणमा रहेका संरचना (सामाजिक, आर्थिक र शिक्षा प्रणाली) ढलेको अवस्थामा शहर वा बिदेशिने परम्पराले बस्ति सुनसान भई लेखमा उल्लिखित एक दयनीय सामाजिक र आर्थिक अवस्था निम्तिएको छ। हालैको आन्दोलन पछि बन्ने सरकारले यस्ता आधारभुत कुरामा बिचार पुर्याउनुपर्ने देखिन्छ।

पुरुषोत्तम राज सिंह

1 week, 3 days ago