लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

जिपमा सवार ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–४ का २० वर्षीय उमेश लिम्बू भने सकुशल छन्।

लमजुङ– लमजुङमा शुक्रबार राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मर्स्यांदी गाउँपालिका–३ खुदिबाट सोही पालिकाको वडा नं ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको जिप दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार, मृत्यु हुनेमा जिपका चालक दोलखा मेलुङ–४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्का छन्। 

जिप अनयन्त्रित भएर सडकबाट ८०० मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते दुवैलाई प्रहरीले उद्धार गरेर उपचारका लागि बेँसीशहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल पुर्‍याएको थियो। 

अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। जिपमा सवार ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–४ का  २० वर्षीय उमेश लिम्बू भने सकुशल छन्।