बागलुङमा पिकअप दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

बागलुङको ढोरपाटनमा पिकअप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

ढोरपाटन– बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते हुनेहरूको पहिचान खुलेको छ। 

शुक्रबार राति १० बजे बुर्तिबाङदेखि ढोरपाटन जाँदै गरेको ग३च ३८१९ नम्बरको पिकअप ढोरपाटन नगरपालिका–८ र ९ को सिमाना च्वाबीमा दुर्घटनामा परेको थियो।दुर्घटनामा परेर ढोरपाटन नगरपालिका–७ का २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको हो।

पिकअप बुर्तिबाङ–ढोरपाटन सडकबाट करिब ६० मिटर तल भुजीखोलामा खसेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए। दुर्घटनामा ढोरपाटन नगरपालिका–९ का गाडी चालक २७ वर्षीय दिलबहादुर विक र वडा नं ७ का २४ वर्षीय वसन्त अदै घाइते भएका छन्। 

घाइते चालक विकको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ भने घाइते अदै उपचारपछि घर फर्किएको उनको भनाइ छ।