करण र आयुषालाई राप्ती सोनारी नेचर रनको उपाधि

दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि करण नेपाली र आयुषा सिंह ठकुरीले जितेका छन्।

नेपालगन्ज– दोस्रो राप्ती सोनारी नेचर रनको उपाधि करण नेपाली र आयुषा सिंह ठकुरीले जितेका छन्। 

शनिबार राप्ती सोनारीको मडुवामा भएको राप्ती सोनारी नेचर रनको दोस्रो संस्करणमा छात्रतर्फ नविनप्रसाद जोशी दोस्रो र प्रिन्स थारु तेस्रो भए। छात्रतर्फ रामबहादुर विक, सुशान्त पुनमगर, दीपेन्द्र बस्खोर, रोहित दहित, समीर थारु, विशाल सुनार, आशिष थारु शीर्ष दशभित्र रहे।

त्यसैगरी, छात्रातर्फ अनिसा थारु दोस्रो र अन्चल कुमारी थारु तेस्रो भए। यसमा मिना विष्ट, अन्जु सुनार, अनुजा थारु, सन्जु थारु, रन्जिता चौधरी, निस्मा थारु, रामकुमारी थारुले शीर्ष दशभित्र स्थान बनाए। पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूलाई नगद पाँच हजार, तीन हजार र एक हजार रुपैयाँका साथै पदकले पुरस्कृत गरिएको थियो।

राप्ती सोनारी नेचर रन गत वर्षदेखि शुरू गरिएको हो। यो दौड स्थानीय स्कुले बालबालिकालाई प्रकृतिको महत्त्व दर्शाउने र दौडमा आकर्षित गर्ने उद्देश्यले आयोजना गरिन्छ, जुन एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एवं डिस्टेन्स रेस (एम्स)को वार्षिक कार्यक्रम धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्ट हो।

करिब १३० जनाले भाग लिएको दौडबाट शीर्ष दश जनालाई यही मंसिर ६ गते शनिबार हुने ११औँ धारा नेपालगन्ज म्याराथनमा स्वतः भाग लिन पाउनेगरी पुरस्कृत गरिएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए।

धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रूपमा गत असोजमा गौघाट ग्रिन रन गरिएको थियो। काठमाडौँ २५ के हेरिटेज रेस, नेपालगन्ज १० नाइट रन, कर्णाली हाफ म्याराथनसमेत नेपालगन्ज म्याराथनकै भगिनी इभेन्टका रूपमा सञ्चालित छन्।