मधेशका मुख्यमन्त्री सोनलले गरे राजीनामाको घोषणा

विश्वासको मत लिने प्रयोजनका लागि शनिबार बसेको मधेश प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामाको घोषणा गरेका हुन्।

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा घोषणा गरेका छन्। शनिबार बसेको मधेश प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सोनलले राजीनामाको घोषणा गरेका हुन्।

सोनल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता हुन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनी असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले असोज ३० गते पद तथा गोपनीयताको शपथ लिएका थिए। ६ दलको समर्थन र ५७ प्रदेश सांसदको हस्ताक्षरसहित उनले प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका थिए।

तर शनिबार प्रदेशसभा बैठकमा विश्वासको मत लिन लाग्दा सांसदहरूबीच विवाद उत्पन्न भएपछि उनले राजीनामा दिएको घोषणा गरे। त्यसपछि सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको घोषणा गरे।

सांसद रहबर अन्सारीले अनुहारमा दले कालो मोसो
प्रदेशसभा बैठकमा मुख्यमन्त्री सोनलले विश्वासको मत दिन आग्रह गरेपछि विभिन्न दलका सांसदहरूले आफ्नो धारणा राखेका थिए। त्यसक्रममा नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा कालो मोसो दले।

रोस्टमबाट बोल्दै उनले मधेश प्रदेशसभामा रहेका सम्पूर्ण सांसदहरूलाई अपराधीको संज्ञा दिए। उनले आठ वर्ष भइसक्दा पनि मधेश प्रदेशका ६४ लाख जनताको अवस्था कस्तो छ भनेर प्रश्न गरेका थिए।

सांसद अन्सारीले सरकारमा भएका बेथितिहरूका बारेमा प्रदेशसभा लगायत आफ्नै पार्टीलाई पनि अवगत गराउँदा कतै कुनै सुनुवाइ नभएको आरोप लगाए। उनले आफ्नो पार्टीले अब जे गरे पनि आफूले कसैलाई विश्वासको मत नदिने बताए। सांसद अन्सारीले मधेश प्रदेशको कुनै सांसदसँग मधेशका समस्याहरूको निकास दिने नैतिक आधार नरहेको बताए।